धरान : तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो रनिङकप बास्केटबल प्रतियोगिता आज बिहीबार देखी डिपो स्कुलको बास्केटबल कोर्टमा सुरु भएको छ ।

पहिलो दिन खेलमा सुनाखरी, लोटस, प्रभात र दिल्ली पब्लिक स्कुल विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेल सुनाखरीले कार्मेल स्कुललाई ३२-१९, लोटसले धरान मेघा हिमालयनलाई ३९-१४, प्रभातले डिपो स्कुललाई २३-२१ अङ्क र दिल्ली पब्लिकले प्याराडाइज स्कुल तरहरालाई ३९-२६ अङ्कले पराजित गरेको छ ।

पहिलो खेलमा सुनाखरी र कार्मेल स्कुलले प्रत्येक क्वाटरमा ८-३, ५-६, १०-८ र ९-२ अङ्क जोडे । दोस्रो खेलमा लोटस स्कुल र धरान मेघाले प्रत्येक क्वाटरमा ४-१, १०-२, १४-३ र ११-८ अङ्क जोडेका थिए ।

तेस्रो खेलमा प्रभात स्कुल र डिपो स्कुलले निर्धारित समय सम्म बराबर अङ्क जोडे पछि खेल थप समय थपिएको थियो । ५ मिनटको थप समयमा प्रभात स्कुलले डिपो स्कुल विरुद्ध र ४-२ अङ्क जोड्दै जित हात पारेका थिए ।

निर्धारित समयको खेलमा प्रभात र डिपो स्कुलले प्रत्येक क्वाटरमा ३-९, ३-२, २-५ र ३-११ अङ्क जोडेका थिए । बिहीबार भएको चौथो खेलमा दिल्ली पब्लिक र प्याराडाइस तरहराले ९-०, ४-८, १४-१५ र १२-३ अङ्क जोडे ।

प्रतियोगिता डिपो स्कुलको आयोजनामा भएको हो । धरान बास्केटबल सङ्घको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि धरान १८ का वडाध्यक्ष प्रवीण राईले गरेका थिए ।

डिपो स्कुलका व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिवङ्गत श्रवणकुमार लिम्बूको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो । उनको २०७८ साल साउन १५ गते कोरोना सङ्क्रमणबाट निधन भएको थियो । उद्घाटन समारोहको सभापतित्व व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मरवहादुर लिम्बूले गरेका थिए।

प्रतियोगितामा आयोजक डिपो स्कुल सँगै धरान मेघा हिमालयन स्कुल, कार्मेल स्कुल, सुनाखरी स्कुल, युनाइटेड गोर्खा एकेडेमी, सियोन स्कुल, होलिल्याण्ड स्कुल, समिट स्कुल, विष्णु स्कुल, आइडल स्कुल, दिल्ली पब्लिक स्कुल, सत्यशिसु निकेतन, लोटस स्कुल, प्रभात स्कुल, हिमशिखर स्कुल तरहरा, प्याराडाइज स्कुल तरहरा, पूर्वाञ्चल इङ्लिस स्कुल तरहरा गरी १७ टिमले सहभागी छन् ।

कक्षा १० सम्मका खेलाडीहरूले मात्र प्रतियोगितामा सहभागी हुन पाउँछन् । विजेता टिमले नगद १५ हजार रुपैयाँ, उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयरले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

भोलि शुक्रवारको खेल प्रभात र होलिल्याण्ड,  विष्णु स्कुल र आइडियल, सत्यशिसु निकेतन र समिट स्कुल, पूर्वाञ्चल स्कुल तरहरा र सियोन स्कुल र युनाइटेड गोर्खा र हिमशिखर स्कुल तरहरा बिच हुने आयोजक समितिले जनाएको छ ।

उद्घाटनमा पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, डिपो स्कुल गुठियार अध्यक्ष भिमराज लिम्बु, सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदी, प्रतियोगिता संयोजक खड्का शमसेर लिम्बु, डिपो क्याम्पस प्रमुख राजकुमार राई, धरान मेघा हिमालयन कलेज अध्यक्ष कैलाश लिम्बु उपस्थित थिए ।

shrawan-memorial-basketball