इटहरी : इटहरी खानेपानी उपभोक्ता संस्थाको साधारण सभामा कुर्सी हानाहान भएको छ। साधारण सभाको बन्द सत्र सञ्चालन सुरु भएको केही समयमै विवाद बढेपछि एउटा समूहले सभा बहिस्कार गरेको हो ।
नेपाली काँग्रेस, राप्रपा लगायत दलहरूका वडा प्रतिनिधीहरुले सभा बहिस्कार गरेपछि बहुमतको आधारमा बन्द सत्र सञ्चालन भएको हो । बन्द सत्रमा महासचिव शालिग्राम ढकालले विभिन्न समिति गठनको आह्वान गरेसँगै विवाद सुरु भएको थियो ।
बैठक सञ्चालन कार्यविधि अनुसार सभा सञ्चालन गर्नुपर्ने माग राखेका समूहलाई बेवास्ता गर्दै एमालेले बहुमतको आडमा पेल्न खोजेको भन्दै विरोध भएको हो । कार्यविधि अनुसार सुरुमा माइन्युट लेखन समिति, त्यसपछि माइन्युट प्रमाणीकरण समिति र सुझाव सङ्कलन समिति गठन हुनुपर्ने प्रावधान रहे पनि त्यसको ठिक उल्टो भएको प्रतिनिधि दीपक दाहालले बताए । उनका अनुसार एमालेले बहुमतको आडमा पेल्न खोजेको र सभा अध्यक्षले विधान मिचेका हुन् ।
फ्लोरबाट विधान संशोधनको प्रस्ताव गएको तर त्यसलाई टेबल नै नगरी सभा अगाडी बढाएपछि आफूहरूले आपत्ति जनाएको उनले प्रस्ट पारे । संस्थाको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने, परिषद् सदस्यले पनि अध्यक्षको उम्मेदवार बन्न पाउनुपर्ने, विपन्न र असहायको घर पहिचान गरी छुटको व्यवस्था मिलाउनुपर्ने लगायत विधानमा संशोधन गर्न काँग्रेस र राप्रपाका प्रतिनिधिले प्रस्ताव गरेका थिए । 
प्रतिनिधिले पेस गरेको प्रस्ताव विधि सम्मत नआएको र हलको बहुमतले अस्वीकृत गरेको सभाका अध्यक्ष तथा कार्यबहाक अध्यक्ष प्रेम बहादुर बस्नेतले घोषणा गरेपछि विवाद कुर्सी हानाहानमा पुगेको थियो ।
केही साथीहरूले राख्नु भएको एजेन्डा बहुमतले अस्वीकृत भएपछि बैठक बहिस्कार गर्नुभएको बस्नेतले बताएका छन् । बैठकको प्रस्ताव १५ दिन अगाडी नै सम्पूर्ण प्रतिनिधि समक्ष पुगिसकेको हुँदा सोही प्रस्तावमा छलफल हुने कार्यसूची रहेको उनले जानकारी दिए ।