इटहरी : कोशी प्रदेशको सबैभन्दा धेरै विद्यार्थी भएको सामुदायिक क्याम्पस जनता बहुमुखीको ब्यानर दुई अग्ला हिमालको आधार शिविरमा फहरीएका छन् । तीन जना प्राध्यापकहरूले कोशी प्रदेशमा रहेका कञ्चनजंगा र कुम्भकर्ण हिमालको बेसक्याम्पमा क्याम्पसको ब्यानर पुर्‍याएका हुन् । 
इटहरीको एक मात्र सामुदायिक क्याम्पसका प्राध्यापकहरू अर्जुन उप्रेती, प्रदीप केसी र रबिन भट्टराईले बेसक्याम्प पुगेर फर्किएका छन् । जनता क्याम्पसले स्थानीय पाठ्यक्रम तयार पारिरहेको अवस्थामा हिमालको फेदीसम्म ब्यानर पुगेको हो । 
गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) र विश्वविद्यालय अनुदान आयोग (युजीसि) बाट मान्यता प्राप्त जनता क्याम्पसले उत्कृष्ट नतिजा दिँदै आएको छ । क्युएए र युजीसीले स्थानीय पाठ्यक्रम तयार पार्न अनुमति दिइसकेको हुँदा हिमाल र हिमाली वातावरणको विषयमा पाठ्यक्रम तयार पार्न लागिएको हो । 
कोशी प्रदेशमै तीन अग्ला हिमाल (सगरमाथा, मकालु र कञ्चनजंगा) रहेका छन् । पर्यटन र उद्धमशिलताको महत्त्वपूर्ण क्षेत्र हिमाल बन्न सक्ने भएकाले हिमाली परिवेश पाठ्यक्रममा समावेश गर्न लागिएको हो ।