इटहरी : शनिवार देखी इटहरीमा दोस्रो ‘एसियन सुटिङ बल च्याम्पियनसिप २०२५’ सुरु भएको छ । प्रतियोगितामा नेपालसहित भारत, बांगलादेश, र पाकिस्तानका खेलाडीहरूबिच प्रतिस्पर्धा हुने भएको हो ।
नेपालबाट पुरुष र महिलाको छुट्टाछुट्टै टिममा ४५ जना खेलाडी सहभागी भएका छन् । भारतबाट ६२ जना, बांगलादेशबाट १२ जना, र पाकिस्तानबाट १४ जना खेलाडी प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन दिने तयारीमा छन् ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले खेलको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताले इटहरी र समग्र प्रदेशको गरिमा बढाएको बताए । खेलकुद गतिविधिहरूले खेल क्षेत्रको विकास मात्र नभई देशहरू बिचको सम्बन्धलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
कार्यक्रममा एसियन सुटिङ बल फेडरेसनका महासचिव रविन्द्रसिंह तमोरले अन्तर्राष्ट्रिय प्रतियोगिताले सहरलाई चलायमान बनाउने बताए । देशहरू बिचमा सुमधुर सम्बन्ध विकास गर्न यस्ता प्रतियोगिता प्रभावकारी हुने उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश सांसद मिना श्रेष्ठ, प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेस विष्ट, नेपाल सुटिङ बल एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रवीण केसी लगायतको उपस्थिति थियो ।