इटहरी : इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको १५औँ संस्करणको तयारी तीव्र बनेको छ ।

आयोजक राष्ट्रिय जागृति (राजा) क्लब इटहरीले आफ्नो नयाँ टिम जर्सी सार्वजनिक गरेको छ । आगामी फागुन ३ गतेदेखि सुरु हुन लागेको यस प्रतिष्ठित प्रतियोगितामा राजा क्लबले प्रयोग गर्ने नयाँ जर्सी सेतो र रातो रङ्गको आकर्षक संयोजनमा तयार गरिएको छ ।

प्रख्यात मोबाइल ब्रान्ड भिभोले यस पटक राजा क्लबको जर्सी प्रायोजन गरेको छ । जर्सी सार्वजनिकीकरण कार्यक्रममा क्लबका कोषाध्यक्ष अनुरोध थापाले भिभो मोबाइलप्रति विशेष आभार व्यक्त गरे ।

व्यावसायिक संस्थाहरूले खेलकुद क्षेत्रमा गरेको यस्ता सहयोगले नेपाली खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने थापाले बताए । नयाँ सार्वजनिक भएको जर्सी लगाएरै बुढासुब्बा गोल्डकपको आजको खेलमा राजा क्लब सहभागी हुने थापाले जानकारी दिए ।

धरानमा चलिरहेको २५औँ संस्करणको बुढासुब्बा गोल्डकपको तेस्रो क्वाटरफाइनलमा राष्ट्रिय जागृति क्लब इटहरी र भुटानको आरटिसी फुटबल क्लब बिच हुनेछ । यता यस वर्ष इटहरी गोल्डकप प्रतियोगिता विगतका वर्षहरूभन्दा थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

कोषाध्यक्ष थापाले भने, 'हामीले यस पटक प्रतियोगितालाई अझ व्यवस्थित र स्तरीय बनाउन विशेष तयारी गरेका छौँ। नयाँ जर्सीको सार्वजनिकीकरणसँगै टिमको मनोबल पनि उच्च रहेको छ।'

भिभो नेपालको पूर्वी क्षेत्र प्रमुख निमेष घिमिरेका अनुसार वर्ष २०२५ भरका खेलकुद प्रतियोगितामा राजा क्लबले भिभो अङ्कित टिसर्ट लगाएर खेल्ने छ । पूर्वी नेपालको खेलकुद क्षेत्रमा व्यावसायिक साझेदारी गर्न पाउँदा आफूहरू हर्षित रहेको घिमिरेले बताए ।

फागुन ३ देखि सुरु हुने यस प्रतियोगितामा स्वदेशी तथा विदेशी टिमहरूको सहभागिता रहने छ। इटहरी स्थिति प्रादेशिक रङ्गशालामा खेलहरू आयोजना हुनेछन् । प्रतियोगिताले इटहरी क्षेत्रको खेलकुद विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुका साथै स्थानीय अर्थतन्त्रको प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउँदै आएको छ।