धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानमा सञ्चालित बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको निरन्तरताले २५ औँ वर्ष पुरा गरेर नपाली फुटबलको क्षेत्रमा नयाँ इतिहास स्थापित गरेको बताएका छन् ।

गोल्डकपको २५औंं संस्करणको फाइनल खेत तथा समापन समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले भने ‘बुढासुब्बा फुटबल प्रतियोगिताले २५ वर्ष सम्म निरन्तर प्रतियोगिता सञ्चालन गरेर नेपाली फुटबलको क्षेत्रमा नयाँ इतिहास कायम गरेको छ ।’

बुढासुब्बा फुटबल प्रतियोगिताले धरान फुटबलको खेलाडी उत्पादन केन्द्र बनेको बताउँदै उनले भने ‘धरानमा एन्फा एकेडेमीमा चलिरहेको स-साना बालकहरूको फुटबल प्रशिक्षणले भविष्यका नेपाली फुटबलमा प्रतिभाशाली खेलाडी उत्पादन हुँदैछन् ।’

मुख्यमन्त्री कार्कीले धरानको भविष्य खेलकुद र पर्यटन विकासमा उज्ज्वल रहेकाले प्रदेश सरकारले धरानलाई पर्यटन र खेलकुदको केन्द्र बनाउन आवश्यक योजना बजेटको व्यवस्था गरिने प्रतिबद्धता प्रकट गरे ।

उनले प्रदेश सरकार धरानको खानेपानीको समस्या समाधान गर्ने कार्यमा तत्काल केन्द्रित भएको बताउँदै धरानमा खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले भूमिगत पानीको लागि आवश्यक बजेट वार्षिक रूपमा विनियोजन गरिरहेको उल्लेख गरे ।

संस्थापक राई र वरिष्ठ पत्रकार सम्मानित 

समापन समारोहमा धरान फुटबल क्लबका संस्थापक अध्यक्ष तथा बुढासुब्बा गोल्डकपको सुरुकर्ता किशोर राई राई ५१ हजार रुपैयाँ नगद सहित सम्मानित गरिएको छ ।

उनले सुरु गरेको गोल्डकप प्रतियोगिताको निरन्तरताले काठमाडौँ उपत्यका बाहिरको फुटबल खेलमा नयाँ लहर ल्याउने योगदान पुर्‍याएको उनको सम्मान पत्रमा उल्लेख छ ।

सोही अवसरमा वरिष्ठ पत्रकार हर्ष सुब्बालाई पनि ११ हजार रुपैयाँ सहित क्लबले सम्मानित गरेको छ । उनी बुढासुब्बा गोल्डकपको पहिलो आयोजना देखी ‘कान्तिपुर’ मा रिपोर्टिङ गर्दै आएका पत्रकार हुन ।

समारोहमा क्रियाशील पत्रकारको रूपमा सम्मानित भएको नेपाल प्रेस युनियन सुनसरीकी सदस्य, गोरखापत्र दैनिककी पत्रकार निशा राईलाई पनि सम्मानित गरिएको छ ।

समापनको अवसरमा क्लबका अध्यक्ष प्रताप तामाङले बुढासुब्बा गोल्डकपको निरन्तरतामा धेरै उतार चढाउन आएको बताउँदै सरकार पक्षबाट सहयोगको अभावका कारण विदेशमा बस्ने धरानका बुढासुब्बा प्रेमीहरूको सहयोगमा २५ औँ संस्करण सम्म आएको उल्लेख गरे ।

उनले भने ‘बुढासुब्बा गोल्डकपको निरन्तरताको लागि सबैको सकारात्मक सहयोगको आवश्यकता बढेको छ, सबैको सहयोग विना प्रतियोगिताले निरन्तरता पाउन कठिन भएको हामीले महसुस गर्न थालेका छौ ।’

समारोहमा जिल्ला फुटबल सङ्घका अध्यक्ष दीपक राई, नेपाली काँग्रेसका नगर सभापति श्याम पोखरेलले बुढासुब्बा गोल्डकप फुटबल धरानको इज्जत प्रतिष्ठा भएकोले यसको निरन्तरतामा सबै पक्षको सहयोग आवश्यक भएको कुरामा जोड दिए ।

harsa-subbha-samankisor-rai-saman