धरान : २५ औँ संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा क्वाटर फाइनल समीकरण पुरा भएको छ । बुधवार साँझ धरान ६ र धरान १० बिचको खेल सम्पन्न भएसँगै क्वाटर फाइनल समीकरण पूरा भएको हो ।
बुधवार भएको खेलमा ६ वडाले ४-० को फराकिलो जित दर्ज गरेको छ । विजयी भएको ६ वडाले क्वाटर फाइनलमा १४ वडासँग प्रतिस्पर्धा गर्नेछ भने पराजित भएको १० वडा प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको सुरुवातदेखि नै १० वडालाई दबाबमा राखेको ६ वडाले १३ औ मिनेटमा नै गोल गरेको थियो । धरान ६ का सन्देश राईले गोल गर्दै टोललाई अग्रता दिलाएका थिए । खेलेको १८ औँ मिनेटमा सुवास राना मगरको गोल मार्फत अग्रता दोब्बर बनायो भने त्यसको एक मिनेट बित्न नपाउँदै सन्देश राईले अग्रता तेब्बर बनाए । पहिलो हाफमा ३-० ले पछि परेको धरान-१० ले दोस्रो हाफमा सुधारिएको प्रदर्शन पर्यो । खेलको ५० औ मिनेटमा यमन मगरेले अर्को गोल थपेपछि ६ वडाले फराकिलो जित हासिल गर्यो ।
खेलको म्यान अफ द म्याच ६ नं. वडाका सन्देश राई घोषित भए । उनलाई माउन्ट एभरेस्ट ट्रेनिङ सेन्टरका सञ्चालक कुमार तामाङले नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।
भोली बिहीबार गत वर्षको विजेता धरान वडा १३ र उपाधिको दाबेदार मध्येको एक १५वडा बिच पहिलो क्वाटर फाइनल खेल हुने आयोजकले जानकारी दिएको छ । बुधवार साँझ ६ः३० बजे धरान रङ्गशालामा वडा १३ र वडा १५ बिच खेल हुने आयोजकले जानकारी दिएको छ ।
चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्ने आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।