धरान : विद्यालय तहमा फुटबल खेल मार्फत बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकास प्रवर्द्धन गर्न सुनसरीमा ‘फिफा फुटबल फर स्कुल’ फेस्टिभल सुरु भएको छ ।
धरान–१७ स्थित एन्फा एकेडेमीमा शुक्रवार अखिल नेपाल फुटबल सङ्घ एन्फा केन्द्रीय अध्यक्ष पङ्कज नेम्वाङले फेस्टिबलको उद्घाटन गरेका हुन । एन्फा सुनसरीद्वारा आयोजित फेस्टिबलमा सुनसरीका १३ वटा विद्यालय सहभागी छन् ।
सहभागी विद्यालयहरूमा नेपाल प्रहरी स्कुल, आदर्श मावि वराहक्षेत्र, शारदा बालिका नमुना मावि धरान, शिक्षा सदन मावि धरान,सियोन सेकेन्डरी धरान, सिद्धार्थ मेमोरियल एकेडेमी वराहक्षेत्र, मुन बिम एकेडेमी वराहक्षेत्र छन् ।
यसै गरी अक्सफोर्ड एकेडेमी वराहक्षेत्र, डिभाइन लाइट एकेडेमी वराहक्षेत्र, भरौल बाल मन्दिर वराहक्षेत्र, राष्ट्रिय माध्यमिक विद्यालय इटहरी, हिमशिखर सेकेन्डरी स्कुल इटहरी, लर्ड बुद्ध एकेडेमी राम धुनी स्कुल सहभागी छन् ।
एन्फा सुनसरीका अध्यक्ष नवीन राईको सभापतित्वमा भएको उद्घाटनको अवसरमा एन्फा मानार्थ उपाध्यक्ष, कोशी प्रदेश फुटबल सङ्घ अध्यक्ष किशोर राई विशेष अतिथि थिए ।
विश्व फुटबल महासङ्घ फिफा र युनेस्कोको साझेदारीमा सञ्चालन भइरहेको ‘फिफा फुटबल फर स्कुल फेस्टिभल‘ले विद्यालय तहका बालबालिकालाई खेलमार्फत नेतृत्व विकास, अनुशासन, टिम वर्क र आत्मविश्वास बढाउने विश्वास गरिएको छ ।



































































