इटहरी : निजी तथा आवसिय विद्यालयीय सङ्घ (प्याब्सन) कोशी प्रदेशले लिडरसिप समिटको आयोजना गर्ने भएको छ । मङ्सिर २६ गते शुक्रवार इटहरीको सोल्टी वेस्टेण्डमा भव्यताका साथ समिट हुन लागेको हो । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजयकुमार थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने समिटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञको प्रस्तुति सहितको कार्यक्रम तय गरिएको छ ।

दिगो तथा भरपर्दो नेतृत्व र संस्कारयुक्त विद्यालय निर्माणको मुख्य ध्येयका साथ कार्यक्रम आयोजना गरिएको प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापाले बताए । रिसाईकल र रियुजको कल्चरबारे विद्यार्थीलाई बुझाउन जरुरी रहेको बताउँदै उनले विद्यार्थीलाई भन्दा सुरुमा विद्यालय नेतृत्वलाई प्रशिक्षित गर्नुपर्ने प्रस्ट पारे । तीन सय प्रिन्सिपलहरू सहभागी हुने समिटमा निरन्तर सिकाई सँगै समयको महत्त्व र समय निष्ठताको प्रभाव बारे समेत खुलस्त पारिने भएको छ ।

प्रविधिको सही प्रयोग नगर्दा बालबालिकाको भविष्यमा पार्ने प्रभावलाई लिएर छुट्टै सेसन सञ्चालन गरिने भएको छ । विद्यालयका प्रिन्सिपल तथा शिक्षकलाई एआईको प्रयोगबारे समेत प्रशिक्षित गराइने भएको छ । विद्यार्थीको विकासको लागि अभिभावक र विद्यालयको भूमिकाबारे छलफल गराइने भएको हो । शिक्षक लिडरको माध्यमबाट विद्यालयको वातावरण सुधार गर्ने र त्यसको प्रभाव जेन अल्फा पुस्तासम्म पुर्‍याउने लक्ष्य लिइएको छ ।

सामाजिक संरचनाहरू कमजोर बन्दै गएको र बालबालिकाको संवेगात्मक विकासमा गम्भीर प्रभाव परेकाले भविष्यको पुस्तालाई खतराबाट मुक्त गर्नुपर्ने समिटमा सहभागी वक्ता तथा शिक्षाकर्मी अन्जु भट्टराईले बताइन् । समिटमा शिक्षक तथा विद्यालयलाई बालबालिकाले संवेगात्मक र सामाजिक विकासको प्रक्रियाको बारेमा बुझाइने उनको भनाइ छ । बालबालिकाको भविष्यमा पर्ने दूरगामी प्रभावबारे शुक्रवारको सेसनमा गम्भीर छलफल हुन लागेको हो ।

भारतबाट सहभागी जनाउन लागेकी बाल मनोवैज्ञानिक डाक्टर तनु श्री सिंह प्रमुख वक्ता रहने कार्यक्रममा विद्यालयीय स्वच्छताको बारेमा छलफल हुने भएको छ । विद्यालयलाई सुसंस्कृत बनाउन शिक्षक लिडरको भूमिका र बालबालिकाको मनोविज्ञानबारे सिंहले अनुभव सहितका सामाग्री प्रस्तुत गर्ने भएकी छिन् ।

बेलायत बाट आएका शिक्षाविद् क्रिस डापारले बालबालिकाको चरित्र निर्माण गरेर विद्यार्थीको सर्वाङ्गीण विकासबारे छलफल गर्ने भएका छन् । विद्यालयको भौतिक संरचना, पाठ्यक्रम, विद्यालयको प्रशासन र शिक्षकको गतिविधिले बालबालिकालाई पार्ने प्रभावबारे खुलेर बहस हुने बताइएको छ ।