इटहरी : कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष यादप ढकालले सहकारी आचारसंहिता विपरीत गतिविधि गर्न थालेपछि संस्था बदनाम बन्दै गएको छ । विना आधार र कारण कर्मचारी निलम्बन गर्ने देखि पूर्व अध्यक्षलाई सेयर सदस्यबाट हटाउने जस्ता गैरजिम्मेवार काम गरेको भन्दै उनी विरुद्ध आवाज उठ्न थालेको हो ।
ढकालले तीन कार्यकाल अध्यक्ष भइसकेका कृष्णप्रसाद अधिकारीलाई विना कारण सेयर सदस्यबाट निष्कासित गरेका छन् । सेयर बापतको रकम समेत भुक्तानी नगरी उनले निष्कासित गरेको पत्र थमाएका हुन् । भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण गरेको भन्दै कारबाहीमा परेका अधिकारी लामो समयदेखि सक्रिय पत्रकारितामा छैनन् ।
पत्रकारिता भन्दा फरक पृष्ठभूमिका मनोज दाहाललाई समेत उनले सोही कारण देखाउँदै सदस्यबाट हटाएका छन् । भरपर्दो कारण विना नै सेयर सदस्यबाट निकालिएको जानकारी गराएका ढकालले संस्थालाई एकलौटी हिसाबमा अगाडी बढाउन खोजेका छन् ।
यसअघि पाउडर प्लान्टको मेसिन खरिदको अनियमिततामा जोडिएका उनी एक कर्मचारीको आत्महत्यापछि विचलित भएका छन् । गत कार्त्तिक १७ गते कामधेनुका बजार प्रतिनिधि झापा घर भएका प्रेमकुमार मिश्रको आत्महत्यापछि उनले संस्थामा फरक मत राख्नेहरूलाई कारबाही गर्न थालेका हुन् ।
अर्का कर्मचारी तेजप्रसाद सुवेदीलाई भने निलम्बन गरिएको छ । विना कारण निलम्बनमा परेका उनले अदालतबाट आदेश लिएर आएपछि उनलाई अन्य विभागमा सरुवा गराए । अध्यक्ष ढकालको दबाबले आत्महत्या गर्ने सम्मको अवस्थामा पुगेका उनलाई हतोत्साहित गर्ने, फसाउने र नोकरीबाट निकाल्ने नियतले झुटो आरोप लगाउने गरेका छन् ।
१६ सय भन्दा बढी सेयर सदस्य रहेको सहकारीले गाई तथा भैँसी पालक किसानलाई सदस्य बनाउने गरेको छ । अध्यक्ष ढकालले सहकारी मार्फत कमसल दाना विक्री गर्ने गरेको आरोप छ ।
सेयर सदस्यबाट निष्कासित अधिकारीले उनले कामधेनु संस्थाका बारेमा कुनै सञ्चार माध्यममा आफूले कुनै समाचार वा विचार नलेखेको बताएका छन् । विना प्रमाण उडन्ते आरोप लगाएर शेयर सदस्य खारेज गर्ने निर्णय गर्नु अत्यन्तै गरैजिम्मेवार र पूर्वाग्रही मात्र नभई सहकारी भावना तथा ऐन विरुद्ध भएको उनले बताए । अब कानुनी प्रक्रियामा अगाडी बढ्ने बताउँदै संस्था भित्रै मौलाएको मनपरितन्त्र विरुद्ध लड्ने अडान लिएका छन् ।
मिश्रले आत्महत्या गरेपछि संस्थासँग सम्बन्धित विभिन्न आरोप-प्रत्यारोप सार्वजनिक भएको थियो । मृतक कर्मचारी मिश्रले सुसाइड नोटमा बजार प्रमुख रञ्जित झा र बजार सहायक शेरबहादुर खड्काको नाम उल्लेख गरेका छन् । घटनाको मुख्य दोष झा र खड्का भएको उल्लेख गरेको भेटिए पनि अध्यक्ष ढकाल समेत बेचैन भएका छन् ।
संस्थाका कार्यवाहक अध्यक्ष इन्द्र बानियाँले मृतक मिश्रले रोजेको निर्णयप्रति संस्था दुःखी भएर परिवारलाई राहत प्रदान गर्न लागेको बताएका छन् । तेजप्रसादले मृतकका परिवारलाई दुई पटक सम्म घरमै गएर उक्साएको उनको आरोप छ । पूर्व अध्यक्ष अधिकारी र मनोज दाहालको व्यवहारले संस्थाको प्रतिष्ठामा धक्का लागेको उनले बताए ।


































































