धरान : कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करण अन्तर्गत तेस्रो दिन सम्पन्न खेलबाट दिल्ली पब्लिक सेकेन्डरी स्कुल विराटनगर र प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल धरान क्वाटर फाइनलमा प्रवेश गरेका छन्।
शुक्रवार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा सम्पन्न पहिलो खेलमा वाल्मीकि एजुकेसन फाउन्डेसन बिर्तामोड  र  दिल्ली पब्लिक सेकेन्डरी स्कुल विराटनगर, दोस्रो खेल सैनिक आवासीय महाविद्यालय धरान, प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल बिच प्रतिस्पर्धा भएको थियो। 
पहिलो खेलमा दिल्ली पब्लिकले वाल्मीकि स्कुललाई १–० गोलको अन्तरले पराजित गर्दै क्वाटर फाइनल यात्रा तय गरेको हो।
दिल्ली पब्लिकका अमन खवासले खेलको २०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। खेलको म्यान अफ द म्याच अमन खवास घोषित भए । उनले नगद १ हजार ५ रुपैयाँ पुरस्कार प्राप्त गरे।
तेस्रो दिनको दोस्रो खेलमा प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल धरानले सैनिक आवासीय महाविद्यालय धरानलाई २–० गोलको अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो।
खेलको पहिलो हाफको १५औँ मिनेटमा प्रभातका भुवन भण्डारीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। सैनिक आवासीय महाविद्यालयले बराबरीको प्रयास गरे पनि सफल हुन सकेन। इन्जुरी समयको पहिलो मिनेटमै भुवन भण्डारीले दोस्रो गोल थप्दै प्रभातको जित सुनिश्चित गरेका थिए।
दुई गोलसहित उत्कृष्ट प्रदर्शन गरेका भुवन भण्डारी खेलको म्यान अफ द म्याच घोषित भए। उनले नगद १ हजार ५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ८१ हजार ५ रुपैयाँ र उपविजेताले ट्रफीसहित नगद ४१ हजार ५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय सहभागी छन्।
प्रतियोगिताको शनिवार हुने खेलअन्तर्गत पहिलो खेल आदर्श इङ्लिस स्कुल मोरङ र सिद्धार्थ सेकेन्डरी स्कुल मोरङबिच हुने छ भने दोस्रो खेल माउन्ट हर्मन एकेडेमी धरान र सफल सिद्धार्थ एकेडेमी मोरङबिच हुने आयोजकले जनाएको छ।
police-1