धरान : धरान–१३ कृषि उपज बजारको जग्गामा बसोबास गरेका सुकुम्वासी घरहरू डोजर लगाएर खाली गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभागले निर्देशन दिएको छ । 
कृषि अर्थ विज्ञ अनुशा कार्कीको हस्ताक्षरमा वैशाख २४ गते गरेको परिपत्रमा धरान सहित ११ वटा कृषि उपज थोक बजार व्यवस्थापन समितिलाई बजार क्षेत्रभित्रको जग्गा अतिक्रमण हटाउन निर्देशन दिएको हो । 
तीन दिनभित्र अतिक्रमणको अवस्था सम्बन्धी विवरण समेत पेश गर्न आग्रह सहित गरिएको पत्राचार योजना,अनुगमन तथा सूचना व्यवस्थापन महाशाखाअन्तर्गत बजार विकास, आर्थिक विश्लेषण तथा तथ्याङ्क शाखाले जारी गरेको हो । 
पत्रमा बजारको स्वामित्व तथा भोगाधिकारमा रहेको जग्गाको अवस्था अध्ययन गर्न, अतिक्रमण भेटिए सम्बन्धित पक्षलाई जग्गा खाली गर्न सूचना दिन तथा अटेर गरे स्थानीय तह उपमहानगरपालिका र प्रशासनसँग समन्वय गरी कानुनी प्रक्रिया अघि बढाउन भनिएको छ ।
विभागले बजार क्षेत्रका जग्गा अतिक्रमण भएको सम्बन्धमा जानकारी प्राप्त भएको उल्लेख गर्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाएर अतिक्रमण हटाउने कार्य अघि बढाउन र त्यसको प्रगति विवरण मन्त्रालय तथा विभागलाई जानकारी गराउन समेत निर्देशन दिएको छ ।
कृषि उपज बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार विभागको परिपत्र एक साताअघि प्राप्त भएको हो । उनका अनुसार बजारको करिब २ देखि ३ कट्ठा जग्गामा ५ देखि ६ घर परिवार बसोबास गर्दै आएका छन् । 
भट्टराईले भने “कृषि बजारको प्रयासले मात्रै उनीहरूलाई हटाउन सम्भव छैन, यसका लागि धरान उपमहानगरपालिका र इलाका प्रशासन कार्यालयसँग समन्वय गरिरहेका छौँ ।’ सम्बन्धित निकायको सहयोगमा उनीहरूलाई हटाउने पहल भैरहेको उनले बताए । 
कृषि उपज बजार क्षेत्रभित्र वर्षौँदेखि विभिन्न संरचना निर्माण गरी अतिक्रमण गरिएको विषय बेला–बेलामा उठ्दै आएको थियो । विभागको पछिल्लो निर्देशनसँगै बजारको स्वामित्वमा रहेको जग्गा संरक्षणको विषय पुनः चर्चामा आएको हो ।
सुकुम्वासी घर परिवार तत्काल हटाउने बारेमा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रविक्रम बेघाले आफ्नो कार्यकालमा कसैलाई घरबार विहीन नबनाउने बताए ।
उनले भने ‘कसैलाई पनि बलपूर्वक हटाउने काम मेरो कार्यकालमा गर्दिन ।’सबै नागरिकको बाँच्न पाउने अधिकार छ, कुनै पनि परिवार घरबार विहीन हुने अवस्था आउनु नहुने कुरामा आफ्नो अडान रहने उनको भनाई छ ।