धरान : डिपो माध्यमिक विद्यालयले आयोजना गरेको पाँचौँ अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगितामा शनिवार चार खेल सम्पन्न भएका छन्।
दोस्रो दिनको खेलमा सुनाखरी एकेडेमी,प्रभात इङ्लिस बोर्डिङ स्कुल, पाराडाइज बोर्डिङ स्कुल र चिल्ड्रेन्स एकेडेमीले विजयी यात्रा कायम गरेका छन्।
पहिलो खेलमा सुनाखरी एकेडेमीले युनाइटेड गोर्खा एकेडेमीलाई २२–१५ अङ्कले पराजित गर्‍यो। खेलमा सुनाखरीका वसन्त राई म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा प्रभात इङ्लिस बोर्डिङ स्कुलले समिट सेकेन्डरी स्कुललाई ३०–२४ अङ्कले हरायो। प्रभातका साइमान विके उत्कृष्ट खेलाडी ९म्यान अफ द म्याच० चुनिए।
तेस्रो खेलमा पाराडाइज बोर्डिङ स्कुल, तरहराले माउन्ट हर्मन एकेडेमी, धरानलाई एकतर्फी ५५–९ अङ्कले पराजित गर्‍यो। पाराडाइजका रितिक साह म्यान अफ द म्याच घोषित भए।
अन्तिम खेलमा चिल्ड्रेन्स एकेडेमी, धरानले इस्ट होराइजन, झापालाई ३०–१७ अङ्कले पराजित गर्‍यो। चिल्ड्रेन्सका प्रकुस तामाङ म्यान अफ द म्याच घोषित भए।
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित प्रतियोगितामा मोरङ, सुनसरी र झापाका १६ विद्यालय सहभागी छन्। प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै उत्कृष्ट खेलाडी, उच्च स्कोर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा आयोजना गरिएको हो।