धरान :डिपो माध्यमिक विद्यालयले आयोजना गरेको पाँचौँ अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिता अन्तर्गत तेस्रो दिन आइतबार सम्पन्न चार खेलबाट हिमालयन मेघा एकेडेमी, धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरी, पाराडाइज बोर्डिङ स्कुल, इटहरी र प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुल, धरान सेमिफाइनलमा प्रवेश गरेका छन्।पहिलो खेलमा हिमालयन मेघा एकेडेमीले दिल्ली पब्लिक स्कुललाई ४०–१५ अङ्कले पराजित गर्यो। हिमालयनले पहिलो क्वार्टर ११–२, दोस्रो १२–५, तेस्रो १०–४ र चौथो ८–४ अङ्कले आफ्नो पक्षमा पार्दै सहज जित निकालेको हो। हिमालयनका सङ्गम ठाकुर म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेल निकै प्रतिस्पर्धात्मक रह्यो। हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले आयोजक डिपो माध्यमिक विद्यालयलाई अतिरिक्त समयमा ३०–२९ अङ्कले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। निर्धारित समयसम्म दुवै टोली २८–२८ को बराबरीमा रहेका थिए। अतिरिक्त समयमा हिमशिखरले २ अङ्क जोड्दा डिपोले १ अङ्क मात्र बनाउन सक्यो। हिमशिखरका स्वयम माझी म्यान अफ द म्याच बने।
तेस्रो खेलमा पाराडाइज बोर्डिङ स्कुल, इटहरीले सुनाखरी एकेडेमीलाई ३५–८ अङ्कले हरायो। पहिलो क्वार्टर ४–६ ले पछि परेको पाराडाइजले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो क्वार्टर १०–०, तेस्रो १३–० र चौथो ८–२ अङ्कले जित्दै खेल आफ्नो पक्षमा पार्यो। पाराडाइजका सक्षम तामाङ म्यान अफ द म्याच घोषित भए।
अन्तिम खेलमा प्रभात सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलले चिल्ड्रेन्स एकेडेमीलाई २८–२४ अङ्कले पराजित गर्यो। प्रभातले क्रमशः ८–५, ८–८, १०–६ र २–५ अङ्क जोड्दै जित सुनिश्चित गरेको हो। प्रभातका सुशान्त उराव म्यान अफ द म्याच घोषित भए।कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित प्रतियोगितामा मोरङ, सुनसरी र झापाका १६ विद्यालयको सहभागिता रहेको छ। विजेता टोलीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै उत्कृष्ट खेलाडी, उच्च स्कोर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपो सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा आयोजना गरिएको हो।






































































