काठमाण्डौं : बेलायती महारानी एलिजावेथका नाती राजकुमार ह्यारीले आफू र आफ्नी पत्नी मेगन राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने निर्णय गरेका छन् ।

राजकुमार ह्यारीले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट छुट्टिदै आर्थिकरुपमा स्वतन्त्र बन्न काम गर्ने बताएका छन् । राजकुमार ह्यारीको घोषणापछि ‘ड्युक एण्ड डचेज अफ् ससेक्स’ लाई लिएर बेलायती राजपरिवार अप्ठ्यारोमा परेको छ ।

परम्पराका अनुसार महारानीले आफ्नो शाही परिवारभित्रको पुरुष सदस्यको विवाहको दिन एउटा पदवी दिन्छिन् । ‘ड्युक अफ् ससेक्स’ का पदवी खाली थियो र बेलायतको शाही ताजको उत्तराधिकारीको क्रममा छैठौँ स्थानमा रहेका ह्यारी सम्भावित विकल्प हुने आशा थियो ।

राजकुमार ह्यारी र मेगनले एक बयान जारी गर्दै दुवै जना अब बेलायत र उत्तरी अमेरिकामा आफ्नो समय बिताउने बताएका छन् । बीबीसीले प्राप्त गरेको सूचनाअनुसार शाही जोडीले यो घोषणाभन्दा अघि शाही परिवारको कुनै अरु सदस्यले यस्तो फैसला गरेका थिएनन् र यो फैसलालाई लिएर शाही परिवार निराश छ ।

राजकुमार ह्यारी र मेघनको घोषणापछि राजपरिवारका वरिष्ठ सदस्यहरु निकै दुःखित भएको बताइएको छ ।