अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा आज (बुधबार) अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।
उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारीहरूले बताएका छन् । इरानसँगको सीमा जोेडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिए ।
हेलिकोप्टरमा चालक दलका दुई सदस्य र अन्य २३ व्यक्ति सवार रहेको पनि मेहरीले बताए । सो हेलिकोप्टर आफ्ना लडाकुले खसालेको तालिबानले दाबी गरेको छ ।
प्रवक्ता मेहरीले हेलिकोप्टर दुर्घटनामा पश्चिमी अफगानिस्तानका उपसैनिक कमान्डर र फराह प्रान्तीय परिषदका प्रमुखको मृत्यु भएको बताए । प्रान्तीय परिषदका सदस्य दादुल्लाह क्वानेहले हेराततर्फ उडिरहेको हेलिकोप्टर खराब मौसमका कारण पहाडमा ठोक्किएको बताए । तालिवानको बाक्लो उपस्थितिका कारण उच्च सरकारी तथा सैनिक अधिकृतहरूले सामान्यतया यात्राका लागि हेलिकोप्टरको प्रयोग गर्दछन् ।
युद्धग्रस्त अफगानिस्तानको भौगोलिक विकटताका कारण बेलाबखत हेलिकोप्टरहरू दुर्घटनामा पर्ने गरेका छन् । गत सेप्टेम्बरमा सैनिक सामग्री बोकेको अफगानी सैनिक हेलिकोप्टर फराहमा आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा हेलिकप्टरमा सवार कम्तीमा चारजनाको मृत्यु भएको थियो । सेप्टेम्बरकै शुरुमा उत्तरी बाल्ख प्रान्तमा हेलिकोप्टर दुर्घटना हुँदा दुईजना युक्रेनी नागरिकसहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो । पश्चिमी देशहरूले गृहयुद्धबाट क्षतिग्रस्त अफगानिस्तानको हवाई फौजलाई पुनर्जीवित तुल्याउन सहयोग गरिरहेको बताइएको छ ।
"घटना र विचारबाट साभार गरिएको"