धरान: राष्ट्रिय चिकित्सा विधेयक पूर्वसहमति अनुसार हुबहु पारित गर्नुपर्ने माग राख्दै १६ औं पटक अनसनमा रहेका डा.गोविन्द केसीको समर्थनमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले मंगलबारबाट धर्ना सुरु गरेका छन् ।

प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले डा.केसीको मागको समर्थनमा प्रत्येक दिन ३ घण्टा धर्ना बस्न शुरु गरेको हो । चार दिनदेखि हातमा कालो पट्टि बाधेर काम गदै विरोधमा उत्रिएका प्रतिष्ठानका चिकित्सकहरुले आज मंगलबारदेखि ३ घण्टे धर्ना कार्यक्रम सुरु गरेका हुन् । प्रतिष्ठानको जिओपीडि अगाडि दैनिक विहान ८ बजेदेखि ११ बजेसम्म धर्ना दिने सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले जनाए । ‘डा.केसीको समर्थनमा हामीले शनिबारदेखि हातमा कालोपट्टि बाधेर काम गरिरहेका छौं, आजबाट दैनिक तीन घण्टा धर्ना कार्यक्रम गदैछौं,’सोसाइटीका अध्यक्ष पौडेलले भने,‘पर्सिबाट इमरजेन्सी बाहेकका सम्पूर्ण सेवा ठप्प पाछौं ।’

S6770039 copy

आउदो विहीबारदेखि प्रतिष्ठानमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरेर विरोध जनाउने सोसाइटीले घोषणा गरेको छ । जुनियर चिकित्सकहरुले डा.केसीको समर्थनमा लेखिएका विभिन्न प्ले कार्डहरु समेत बोकेर धर्ना बसेका थिए । उनीहरुले ‘चिकित्सा शिक्षा व्यापार हैन, जनताको स्वास्थ्यमा राजनीतिक चलखेल आहिर कहिले सम्म ?, गोविन्द केसीको आवाज दबाउन पाइदैन, माफियामुखि ऐन चाहिदैनलगायत लेखिएका प्ले कार्ड बोकेर धर्ना बसेका थिए । डा.केसीले उठाएका मागहरु जाहेज भएकोले राज्यले यथासक्य सम्बोधन गर्नुपर्ने माग समेत जुनियर चिकित्सकहरुले राखेका छन् ।

S6770045 copy

गत पुष २५ गते डा.केसीले १६ औं सत्याग्रह इलाममा सुरु गरेका थिए । तर, उनको स्वास्थ्य अवस्था गम्भिर बनेपछि नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट गत विहीबार राती काठमाडौ लगिएको थियो । उनको अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको जेनेरल वार्डमा राखेर उपचार भइरहेको छ । त्यही धर्ना कार्यक्रमलाई डा.केसीले निरन्तरता दिइरहेका छन् । डा.केसीले उठाएका मुद्दाहरुमा सरकारले पटक–पटक सम्झौता गरेर सम्बोधन गर्ने आश्वासन दिएपनि हालसम्म सम्बोधन गरिएको छैन । सरकारले भने डा.केसीको धेरै जसो माग सम्बोधन गरिएको दाबी गरिरहेको छ ।