धरान : अप्रिल २, ’कार्यस्थलमा समावेशीकरण, महामारीपछिको संसारमा चुनौती र अवसरहरू’ नारा सहित विश्व अटिजम सचेतना दिवस मनाइएको छ । 

सोही अवसरमा देशभर विभिन्न सचेतना कार्यक्रम गरी मनाइएको छ । यस्तै इटहरीमा पनि सचेतना कार्यक्रम गरी मनाइएको छ । इटहरीमा रहेको भिन्न प्रतिभा बालबालिका हेरचाह समूहले बिहान १० बजे अटिजमबाट पीडित बालबालिका तथा उनीहरूका अभिभावक, थेरापिस्ट डाक्टर लगायत स्कुलका शिक्षक कर्मचारीले र्‍याली गरेका छन् ।

इटहरीको बसपार्क हुँदै नागरिक चोकसम्म पुगेर पुनः आफ्नै स्कुल भवनमा भिन्न प्रतिभा बालबालिका हेरचाह समूहमै गएर र्‍याली टुङ्गिएको थियो । सो स्कुलले यही अवसरमा आफ्नो प्रथम वार्षिकोत्सव समेत सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता इटहरी वडा नम्बर ९ का अध्यक्ष भूपेन्द्र बरालले गरेका थिए ।

कार्यक्रममा इटहरी उप महानगरपालिका सामाजिक शाखा प्रमुख कुमारी राईको पनि उपस्थिति थियो । कार्यक्रममा उपस्थित अतिथिले स्कुलको वार्षिक उत्सवको बधाई तथा शुभकामना व्यक्त गर्दै उक्त अटिजम भएका पीडित बालबालिकाहरू सबैलाई सरकारले समेट्नु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमलाई हेरचाह समूहका उपाध्यक्ष प्रकाश गौतमले सञ्चालन गरेका थिए ।

संसारमा अटिजमको लक्षण भएका बालबच्चाको सङ्ख्या दिन प्रतिदिन बढिरहेको देखिन्छ । यस्ता लक्षण भएका बालबच्चा आफ्नै सुरमा रमाउने, मानव अन्तरक्रियामा पटकै चासो नदेखाउने र आफूले आफ्नै ध्याउन्नमा गरिरहेको गतिविधिमा जो कहिले बाधा अड्चन पुर्याउनु  कहिले आक्रामक रूपमा प्रस्तुत हुने र कहिलेकाहीँ जबरजस्ती प्रतिकार गर्ने गर्छन् ।