विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सहकार्य गर्न निजी क्षेत्रसित आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सरकार र निजी क्षेत्र बिचको सहकार्यले मात्रै विकास सम्भव भएको बताए ।
महानगरपालिकाले विभिन्न अभियान सञ्चालन गरिरहेको बताउँदै मेयर कोइरालाले महानगरपालिकाको एक्लो प्रयासले मात्रै विराटनगरको समग्र विकास गर्न असम्भव छ । यहाँको विकासमा निजी क्षेत्रको विगतदेखि नै योगदान रहँदै आएको छ । आगामी दिनमा अझै बढी रहोस् भन्ने मेरो चाहना छ ” उनले भने ।
मेयर कोइरालाले महानगरका तर्फबाट महासङ्घका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य अविनाश बोहरा, प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेल, कोषाध्यक्ष सुवास आचार्य, सदस्य राजन श्रेष्ठ, दीपक पाण्डे, रविनकुमार दाहाल, श्रवण अग्रवाल, भविष श्रेष्ठ, सरु केसी, यामबहादुर श्रेष्ठ, मनोजविक्रम शाहलगायतलाई खादा लगाएर सम्मान गरेका थिए ।
महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले महानगरमा सरसफाइ, पार्किङ, सडक बत्तीलगायतका क्षेत्रमा धेरै नै परिवर्तन भएको बताउँदै महानगरले गर्ने जन पक्षीय हरेक काममा साथ र सहयोग रहने बताए ।