धरान : स्वतन्त्र विद्यार्थी युनियन पिण्डेश्वर विद्यापीठले पिण्डेश्वर विद्यापीठमा एक वर्षे शिक्षाशास्त्री कार्यक्रम सञ्चालन गर्न विश्वविद्यालय समक्ष माग गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनले असोज २ गते एक वर्षे शिक्षाशास्त्री कार्यक्रम स्वीकृत गर्न क्याम्पस प्रमुख मार्फत विश्वविद्यालय समक्ष एक सूत्रीय माग राखेको छ ।

पछिल्लो समयमा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको पिण्डेश्वर विद्यापीठमा अध्ययनरत विद्यार्थीहरू शास्त्री तह उत्तीर्ण गरेपछि एक वर्षे शिक्षाशास्त्री अध्ययनका लागी राजधानी वा अन्यत्र धाउन बाध्य छन् ।

पिण्डेश्वर विद्यापीठमा हाल आचार्य तहमा साहित्य र व्याकरण विषय अध्यापन भइरहेका छन् भने यसै शैक्षिक सत्र देखि आचार्य तहमा ज्योतिष विषयको अध्यापन सुरु गर्न लागिएको छ।तर पिण्डेश्वर क्याम्पसमा आचार्य अध्ययन गर्दै राजधानी वा अन्यत्र एक वर्षे शिक्षाशास्त्री अध्ययनका लागी उपस्थित हुन असम्भव हुने भएकाले स्वतन्त्र विद्यार्थी युनियनले यस्तो नीतिगत एवम् व्यवहारिक रूपमा असहज रहेको परिस्थितिलाई सहज गर्न एक वर्षे शिक्षाशास्त्री कार्यक्रम पिण्डेश्वर क्याम्पसमा स्वीकृत गराउन अघि बढेको छ ।

पिण्डेश्वर विद्यापीठमा एक वर्षे शिक्षाशास्त्री अध्ययन गराउन विगत पन्ध्र वर्ष देखि पहल भए पनि हालसम्म कार्यक्रम स्वीकृत हुन सकेको छैन । यस शैक्षिक सत्र देखि धरान पिण्डेश्वर क्याम्पसमा आचार्य अध्ययन गर्दै पाँचथर अथवा राजधानीमा वि.एड अध्ययन गर्न नीतिगत रूपमा नमिल्ने हुनाले पिण्डेश्वर क्याम्पसमा आचार्य तहका सम्पूर्ण कक्षाहरू विद्यार्थीका अभावमा नचल्ने देखिएको छ ।

स्वतन्त्र विद्यार्थी युनियनका सभापति एनिस रेग्मीले यसै शैक्षिक सत्रमा सञ्चालन हुने गरी वि.एड कक्षा सञ्चालन गर्न, स्वतन्त्र विद्यार्थी युनियन लगायत यस क्याम्पस अस्तित्वमा रहेका सम्पूर्ण सङ्घ सङ्गठन तथा विद्यार्थीहरू लागि परिरहेको बताउँछन्, रेग्मीले भने "कुनै पनि हालतमा हामी यसै शैक्षिक सत्र देखि बी.एड. कार्यक्रम क्याम्पसमा सञ्चालन गर्छौँ।"

स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति एवम् अनेरास्ववियु पिण्डेश्वर क्याम्पस इकाई कमिटीका अध्यक्ष सुधाकर पोख्रेलले पिण्डेश्वर विद्यापीठमा बी.एड कक्षा सञ्चालन गर्न विगत १५ वर्ष देखि विश्वविद्यालयले बेवास्ता गरेको तर यस वर्ष पर्याप्त स्रोत साधन, कक्षाकोठा, पुस्तकालय तथा प्राध्यापकहरू पनि उपलब्धता र सक्रियताले मागको सम्बोधन हुनेमा विश्वस्त रहेको बताए । स्वतन्त्र विद्यार्थी युनियनको यस आन्दोलनमा सम्पूर्ण विद्यार्थीहरूको साथ रहेको उनले जानकारी दिए।

स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु र नेवि सङ्घले छुट्टाछुट्टै र संयुक्त रूपमा विश्वविद्यालय समक्ष पत्र बुझाएका छन । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डि दाङले पनि विद्यार्थीहरूको मागलाई गम्भीरता पूर्वक लिएको र यस विषयमा व्यापक छलफल भइरहेको बताएको छ ।

pindeshwar 2

pindeshwar 3