धरान : विश्व राजनीतिमा मिथकका रूपमा उदाहरण कायम गरेका अमेरिकी पूर्व विदेश मन्त्री हेनरी किसिंजरको १०० वर्षको उमेरमा निधन भएको बिबिसीले जनाएको छ ।

राष्ट्रपति रिचर्ड एम निक्सन र जेलाल्ड फोर्डको कार्यकालमा विदेश मन्त्री रहेका किसिंजरको चमत्कारिक कूटनीतिले अमेरिकी विदेश नीतिले अभूतपूर्व सफलता हासिल गरेको थियो ।

उनी अमेरिकी प्रशासनमा विदेश मन्त्रीका साथै व्हाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारको दुई वटा पदमा एकै साथ कार्य गरेका पहिलो नेता थिए । त्यस बेला अमेरिकी विदेश नीतिमा राष्ट्रपति भन्दा बढी भूमिका खेल्ने नेताका रूपमा किसिंजरलाई विश्वले चिन्दथे ।

किसिंजर जर्मनीमा नाजी अत्याचारबाट बचेर सन् १९३८ मा यहुदी आप्रवासीका रूपमा अमेरिका आएका थिए । त्यस बेला उनलाई अङ्ग्रेजी बोल्न राम्रो आउँदैन थियो । उनले हार्वर्ड युनिभर्सिटीबाट स्नातक उत्तीर्ण गरे ।

इतिहासमा विलक्षण मानिएका उनले आफ्नो लेखनमा त्यसलाई अधिकतम उपयोग गरेका छन् । राजनीतिमा प्रवेश गर्नु भन्दा अघि किसिंजर हार्वर्डमा प्राध्यापक गर्दथे ।