धरान : भारतीय राज्य तामिलनाडूको राजधानी चेन्नई नजिक आज मङ्गलवार बिहान आएको समुद्री तुफानको चपेटामा परी ५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रहरी अनुसार आँधी तुफानको बिच बिजुलीको करेन्ट लागेर २ जनाको मृत्यु भएको हो भने १ जनाको मृत्यु रुख ढल्दा किचेर मृत्यु भएको हो । अन्य २ जनाको मृत्युको यकिन कारण थाहा हुन सकेको छैन ।

भारतीय मौसम विभागका अनुसार ‘मिचौंग साइक्लोन’ तुफान राजधानी चेन्नईबाट १३० किलोमिटर उत्तरमा आएको हो । तुफानको कारण चेन्नईमा भीषण वर्षा भइरहेको छ । तुफान दक्षिण तर्फ अर्थात् आन्ध्र प्रदेशको तटीय क्षेत्र तर्फ अघि बढिरहेको छ ।

मौसम विभागका अनुसार तिरुवल्लुर, काँचीपुरम, चेन्नई र चैंगलपट्टु जिल्लामा ६० देख ७० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावाहुरी चलिरहेको छ । यो रफ्तार ८० किलोमिटर सम्म पुग्नु मौसम विभागको अनुमान छ ।

परिस्थितिको जटिलता अनुमान गरी तामिलनाडू प्रदेश सरकारले सतर्कता अपनाउँदै तुफान प्रभावित पाँच जिल्ला चेन्नई, तिरुवल्लुर, काँचीपुरम र चेंगलपट्टुमा सार्वजनिक बिदाको घोषणा गरेको छ । प्रदेशका सबै टनेलहरु बन्द गरिएको छ । धेरै टनेलहरूमा पानी भरिएका छन् ।

भारी वर्षाका कारण राजधानी चेन्नईबाट आन्तरिक र अन्तर्राष्ट्रिय एयरपोर्टमा पानी भरिएकाले उडानहरू आउन जान रोक लगाइएको छ । हवाई प्रशासनले आन्तरिक र बाह्य उडानहरू रद्द गर्दा १५० उडानहरू रोकिएका छन् ।

chennai-tufan