काठमाडौँ : हास्य कलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत ल्याएका छन् । खेलाडीप्रति समर्पित गर्दै हरिवंशले ‘हामी नेपाली, हाम्रो खेलाडी’ गाएका हुन्।

स्वीडेनमा रहेका गीतकार डा. दिपराज थापाको शब्द रहेको गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ-पुराना खेलाडीका यथार्थ श्रव्य दृश्य समेटिएका छन् । नेपाल टी२० विश्वकपमा छनौट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको माहौलमा यो गीत ल्याएको गायक आचार्यले बताए ।

‘गीतकार थापाले खेलाडी सम्बन्धी खेल गीत लेख्नुभएको रहेछ ,’ हरिवंशले भने, ‘मलाई गाइदिनुस् भन्नुभयो । पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरूप्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ । त्यसैले गीतको भिडियोमा पुराना-नयाँ खेलाडीले खेलेका रियल दृश्यहरू राखेका छौँ । खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ ।’

गीतकार थापाले सानैदेखि महजोडी आफ्नो आइडल रहेका कारण यो गीत गाउन आग्रह गरेको बताए । ‘उहाँलाई दुई-चार वटा गीतहरू पठाएँ तर सुरुमै यो गीत राम्रो मान्नुभयो,’ थापाले भने, ‘नेपालमा खेलाडीहरूको देश चिनाउने दायित्व ठुलो छ । पुराना खेलाडीहरूले विश्वसामु चिनाएको इतिहास हेर्दा गौरव लाग्छ । तर खेलाडीहरूलाई जत्ती अवसर, मान मर्यादा हुनुपर्ने हो त्यति भएको देखिँदैन। अन्य देशहरूमा खेलाडीको सम्मान हेर्दा ईर्ष्या आउँछ। त्यसमाथि खेलाडीलाई प्रोत्साहित गर्ने/गराउने गीत र म्युजिक भिडियो हामीकहाँ कमै बन्छन् । त्यस कारण सबै खेलहरूमा हाम्रो यो गीत राष्ट्रिय गीतको रूपमा गुन्जियोस् र खेलाडीहरू प्रति सम्मान र प्रोत्साहन मिलोस् भन्ने कामनासहित यो गीत ल्याएका हौँ । ’

विशाल निरौलाको सङ्गीत र एरेन्ज रहेको यो गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा समेत खिचिएको छ । ‘हामीले बनाउनुपर्ने गीत तपाईँहरूले बनाउनुभएछ भनेर राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले तारिफ गर्नुभएको छ,’ हरिवंशले सुनाए ।

श्यामस्वेत रसाइलीको मिक्सिङ, विनय कंसकारको रहेको यो गीतको रेकर्डिस्ट रञ्जन राई हुन् । गीतकार थापासँगै अस्ट्रेलिया निवासी सुशिला पौड्याल र गोपाल पौड्याल यो गीतका निर्माता हुन् ।