इटहरी : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आँच आउन नदिने बताएका छन् । आफ्नो कार्यकालमा यो व्यवस्था र संविधानको रक्षामा सम्झौता नगर्ने बताए ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशको पदस्थापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुगेका पौडेलले संविधानको कार्यान्वयन र रोजगारी सृजना प्रमुख प्राथमिकता हुनुपर्छ धारणा राखे । विराटनगर नेपालमा राजनैतिक र औद्योगिक क्रान्ति सुरु गर्ने थलो भएकाले अबको समृद्धिको नेतृत्व गर्नुपर्ने बताए ।

मजदुर आन्दोलन मार्फत देशको इतिहास बदलेको विराटनगरले समृद्धि र रोजगारी वृद्धिमा ध्यान दिनुपर्ने बिचार व्यक्त गरे ।

"भएका उद्योग पनि पुर्ण क्षमतामा चलेका छैनन्, त्यसतर्फ ध्यान दिनुपर्छ, विप्रेषणको स्थिति राम्रै देखिन्छ, वैदेशिक सञ्चिति राम्रो छ तर रोजगारी नहुँदा गाउँहरू रित्तो भए । खनिज र कृषिमा आधारित उद्योग खोल्नुपर्ने, दक्ष र अर्ध दक्ष जनशक्ति निर्माण गरी देश विकास गर्नुपर्छ," उनले भने ।

कार्यक्रममा अर्थतन्त्रको विटमा लामो समयदेखि रिपोर्टिङ गर्दै आएका पत्रकार अनन्तराज न्यौपाने र स्थानीय पत्रकार शङ्कर खरेल सम्मानित भए । परिसंघले अन्य विभिन्न  प्रजातान्त्रिक योद्धाहरूलाई पनि सम्मान गरेको थियो ।

परिसंघको पहिलो अधिवेशनबाट उद्योगी पवन शारडा अध्यक्ष चयन भएका छन् । यस अघिका अध्यक्ष भीम घिमिरेले आफ्नो कार्यकाल पूरा गरी शारडालाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।