धरान : अफगानिस्तानको बदखशा प्रान्तमा विमान दुर्घटना भएको छ । बदखशा प्रान्तको तालिबान कमान्डले भने कस्तो विमान दुर्घटना भएको हो र कति जना यात्री थिए भन्ने कुरा जानकारी प्राप्त नभएको बताएको छ ।

तालिबानले मिडियामा दुर्घटनाको पुष्टि गर्दै दिएको जानकारी अनुसार दुर्घटना प्रान्तको उच्च पहाडी क्षेत्रमा भएको हो । विमान मूल हवाई मार्गबाट अलमलिएको आनुमान गरिएको छ ।

विमान कुन देशको हो र कता जाँदै थियो भन्ने यकिन हुन सकेको छैन । विमानमा को को सवार थिए र त्यसको आधिकारिक जानकारी पनि नभएको तालिबानले बताएको बिबिसीको समाचारमा उल्लेख छ ।

अफगानिस्तानी मिडियाले विमान भारतीय भएको दाबी गरे पनि भारतले अहिले सम्म कुनै विमान बेपत्ता भएको पुष्टि गरेको छैन । बिबिसी अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाले भनेका छन्, ‘विमान दुर्घटनाको कुरा मिडिया रिपोर्टबाट थाहा भएको हो, हामीलाई पुष्टि हुने जानकारी प्राप्त भएको छैन ।’

भारतीय समाचार एजेन्सी एएनआईले दुर्घटनाग्रस्त विमान भारतीय नभएको बताएको छ । भारतीय डिजिसीए अधिकारीहरूले एएनआईलाई दुर्घटना भएको विमान मोरक्कोमा दर्ता भएको डीएफ-१० विमान भएको जनाएको छ ।