वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले वडा नं ८ सैनिक स्थित वडा कार्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । नगरपालिका कार्यालयले रामलाल गोल्छा आँखा अस्पताल विराटनगरसँग सहकार्य गरेर उक्त शिविर आयोजना गरेको हो ।

नगरपालिकाका सामाजिक शाखाका प्रमुख अरुण मेहताका अनुसार १ सय ३९ जना सेवाग्राहीहरूले शिविरमा आएर सेवा लिएका थिए । ती मध्ये ३७ जनाको आँखामा मोतियाबिन्दु रोग पहिचान भएको छ ।

उनीहरूको निःशुल्क शल्यक्रिया गरिने र अप्रेसनको लागि आज नै २९ जनालाई अस्पताल लगिएको छ । बाँकी ८ जना प्रेसर, सुगर र मुटुको समस्या भएकाहरू तथा पारिवारिक कारणले आज जान नसकेको र उनीहरूको पनि निःशुल्क शल्यक्रिया गरिने मेहताले जानकारी दिए ।

शिविरमा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका दृष्टि विज्ञ डाक्टर एवम् स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।

नगरपालिकाले यस अगाडि वडा नं. ६ कोशीपारी श्रीलङ्का टप्पुमा, वडा नं. ४ धनपुरीमा, वडा नं ३ को भानुटोलमा, वडा नं १० को प्रकाशपुरमा र वडा नं ७ को ढिकझोडामा निःशुल्क आँखा शिविर आयोजना गरेको थियो ।

nisulka aakha sibir 2 2

nisulka aakha sibir 3 2