धरान : शहिदभुमी गाउँपालिका-१ घंगरुमा भएको कोशी प्रदेश स्तरीय चौथो भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द गाउँपालिकाले चुमेको छ ।

शनिवार भएको फाइनल खेलमा षडानन्द नगरपालिकाले दमक नगरपालिका झापालाई रोमाञ्चक प्रतिस्पर्धामा २५-२२,२५-२५,२३-२५ को सेटमा पराजित गर्दै विजयी भएको हो । दमक नगरपालिका उपविजेता भए ।

प्रतियोगिताको उत्कृष्ट स्पाइकर षडानन्दका कृष्ण रसायली घोषित भए । यसैगरी उत्कृष्ट सरभर सभापोखरी गाउँपालिकाका प्रदीप कट्टेल, उत्कृष्ट सेटर षडानन्दका जयराम खत्री, उत्कृष्ट डिफेन्स मोरङ बेलबारीका लीला श्रेष्ठ घोषित भए ।

उत्कृष्ट ब्लकर दमकका रोमन बस्नेत, उत्कृष्ट प्रशिक्षक षडानन्दका कुमार कटुवाल र सर्वोत्कृष्ट खेलाडी षडानन्दका बाल कुमार रायमाझी घोषित भए ।

सहिद प्रकाश थापा स्मृति ट्रस्टद्वारा सञ्चालन गरिँदै आएको भलिबल प्रतियोगिता कर्तव्य पालनको क्रममा शाहदत प्राप्त गरेका नेपाल प्रहरीका नायव निरीक्षक प्रकाश थापाको स्मृतिमा स्थापना गरिएको हो ।

समापन समारोहमा प्रमुख अतिथि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापाले विजेता तथा उपविजेता टिमलाई पुरस्कार तथा ट्रफि प्रदान गरिन् । धनकुटा जिल्लाको सबैभन्दा ठुलो पुरस्कार राशि १ लाख २१ हजार रुपैयाँ विजेतालाई प्रदान गरियो । उपविजेताले ६५ हजार रुपैयाँमा प्राप्त गरेको छ ।

प्रतियोगितामा धनकुटा, भोजपुर, सङ्खुवासभा, मोरङ र झापा सहित १२ टिम सहभागी थिए ।

समापनमा सहिद भूमि गाउँपालिकाका वडा १ का अध्यक्ष रमेशकुमार राइको उपस्थित थिए । ट्रस्टका अध्यक्ष दिलबहादुर थापाको सभापतित्वमा भएको समापन समारोह विजय घिमिरेले सञ्चालन गरेका थिए ।

koshi pradesh volleyball 2