धरान : दोस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको उपाधि होलिल्याण्ड स्कुलले चुमेको छ ।

डिपो स्कुलद्वारा आयोजित प्रतियोगिताको मङ्गलवार सम्पन्न फाइनल खेलमा होलिल्याण्डले प्रभात स्कुललाई ३८-२३ अङ्कको अन्तरले पराजित गर्दै दोस्रो पटक उपाधि कब्जा जमाएको हो । गत साल पहिलो पटकको उपाधि पनि होलिल्याण्ड स्कुलले चुमेको थियो ।

फाइनल खेलको प्रत्येक क्वाटरमा होलिल्याण्ड र प्रभात स्कुलले ६-३, १९-५, ९-६ र ४-९ अङ्क जोडेका थिए । फाइनल खेलमा होलिल्याण्डका युकुहाङ लिम्बुले व्यक्तिगत ८ अङ्क जोडे । प्रतियोगिताका हाइस्कोरर उपाधि विजेता प्रभात स्कुलका लियोन राईले व्यक्तिगत १२ अङ्क जोडे । उनले प्रतियोगिता अवधिभरि व्यक्तिगत ८० अङ्क जोड्दै हाइस्कोररको उपाधि चुमेका हुन् ।

उपाधि विजेता होलिल्याण्ड स्कुलले नगद पुरस्कार १५ हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता प्रभात स्कुलले नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयरको उपाधि होलिल्याण्ड स्कुलका पारस रोया घोषित भए । उत्कृष्ट खेलाडी र हाइस्कोर उपाधि विजेताले जनही नगद एक हजार रुपैयाँ, लेखक जनकऋषि राईद्वारा लिखित पुस्तक, ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

उनीहरूलाई समापनका सभापति डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मर बहादुर लिम्बु, प्रमुख अतिथि कोशि प्रदेश सांसद रमेश बस्नेत, डिपो स्कुल गुठी संस्थाका अध्यक्ष भिमराज लिम्बु, सुनसरी बास्केटबल सङ्घ अध्यक्ष नारायण सुवेदी लगायतले पुरस्कार प्रदान गरे ।

shrawankumar memorial winner 2

shrawankumar memorial winner 3