विराटनगर : यसपालिको प्रजातन्त्र दिवस कोशी प्रदेशमा स्वास्थ्य स्वयंसेविकाहरूका लागि सुखद रह्यो । उनीहरूको सम्मानमा प्रदेश सरकारले सम्मान सहित पहिलो पटक नगद प्रोत्साहन भत्ता प्रदान गरेको दिन बनेकोले सुखद बनेको हो ।

समारोहमा प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट सबै स्वयंसेविकालाई ५/५ हजार नगद प्रोत्साहन भत्ता र जिल्लाका १/१ जना उत्कृष्ट स्वयंसेविकालाई नगद १५ हजार सहित चाँदीको सिक्का, साडी, टर्च लाइट, सम्मान पत्र प्रदान गरिएको फागुन ७ गते ऐतिहासिक नै बन्यो ।

कोशी प्रदेशभरका स्वास्थ्य महिला स्वयंसेविका भेला भएको कार्यक्रममा अतिथि र सहभागी दुवै दिर्घामा स्वास्थ्य स्वयं सेविकाहरूले भरिएको थियो । कतिपय स्वयंसेविकाहरू सम्मानित हुँदा भक्कानिई रहेका थिए ।

गर्भधाणदेखी शिशुको हेरचाहसम्म ‘फ्रन्टलाइन’मा रहेर काम गरिरहेका, शिशुलाई आवश्यक भिटामिनदेखि आमाको स्वास्थ्य अवस्थासम्मको ख्याल गरिरहेका उनीहरू सरकारले पहिलो पटक गरेको सम्मानबाट उत्साहित थिए ।

मासिक ८ सय रुपैयाँ सम्ममा काम गरिरहेका स्वयंसेविकाहरूको सङ्ख्या कोशी प्रदेशमा ८ हजार ७९१ जना छन् । उनीहरूले मातृ शिशु स्वास्थ्य सुरक्षा तथा मृत्यु दर घटाउने कार्यमा पुर्याउदैँ आएको योगदानमा राज्यको ध्यान अहिले सम्म पुगेको छैन ।

मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री नियुक्त भएदेखि नै अग्रमोर्चामा काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई उचित सम्मान गर्ने बताउँदै आएका थिए । सोही अनुसार स्वयंसेविकाहरूलाई प्रोत्साहन भत्ताका साथै सम्मान गरेका हुन ।

कार्यक्रममा उनले जसका लागि प्रजातन्त्र ल्याइएको हो, उनीहरू प्रजातन्त्रको अनुभूति गर्न पाइरहेका थिएनन्, समाजका अतुलनीय योगदान गर्नेहरूलाई सम्मान गरेर प्रजातन्त्र जनताका लागि ल्याएको अनुभूति प्रदेश सरकारले गराएको बताए ।

मुख्यमन्त्री कार्कीले भने ‘भौतिक विकासको दिगोपनाका लागि प्रदेश सरकार मानवीय विकासमा केन्द्रित छ । हामीले दिनरात नभनी गाँउगाँउमा गएर आमा र शिशुको निगरानी राख्ने, भिटामिन खुवाउने ‘धाई आमा’हरूलाई सम्मान र प्रोत्साहन गरेर उहाँहरूलाई शिरमा राखेका छौँ ।’

सम्मान पाएपछि ताप्लेजुङकी पम्फामाया राईले भावुक बन्दै भनिन् ‘आमाको कोखबाट जन्मिएको भन्दा खुसी छु । मैले कल्पना पनि गरेकी थिइन जुन काम प्रदेश सरकारले हाम्रा लागि गरिदिएको छ ।’ उत्कृष्ट स्वयंसेवी उनी सहित सबै जिल्लाका १/१ जना छन् ।

सम्मानित हुनेहरूमा दिलमाया मगर उदयपुर, निरकुमारी राना ओखलढुङ्गा, तिलमाया खड्का सुनसरी, दयावति राजवंशी झापा, छिरिजम्दा भोटे सङ्खुवासभा, पुण्यकुमारी पौडेल खोटाङ र यशोदा ढकाल पाँचथर, गोमा भट्टराई तेह्रथुम, सिता तामाङ भोजपुर, इश्वरा निरौला इलाम, सोनीकुमारी चौधरी मोरङ, ल्हेमी शेर्मा सोलुखुम्बु र खड्गकुमारी विश्वकर्मा धनकुटा रहेका छन् ।

स्वास्थ्य स्वयंसेविका सङ्घका अनुसार प्रदेशमा ८७९१ जना महिला स्वयंसेविका छन् । उनीहरूले ८ सय रुपैयाँ मासिक पाउँछन् । सङ्घकी कोशी इन्चार्ज रत्ना रिजालले भनिन् स्वयंसेविकाहरूको न्यूनतम पारिश्रमिक तोकिनु पर्ने बताउँदै भनिन् ‘मुख्यमन्त्रीज्यूले हाम्रो समस्याहरू उहाँ आफैँले भनेर स्थायी समाधानको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

koshi swasthya swamki 3koshi swasthya swam sebika 2