धरान : खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढिमा आयोजित निःशुल्क आँखा शिविरमा ५१५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

परीक्षण गरिएकाहरू मध्ये ४५ जनाको शिविरमै मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ ।

दुई दिने शिविरमा १९६ पुरुष, ३१९ जना महिलाको आँखा परीक्षण गरिएको छ । शिविर फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आइ अस्पताल इटहरीको संयुक्त आयोजनामा सञ्चालन भएको नवदृष्टिका वरिष्ठ नेत्र विशेषज्ञ डा. विजय गौतमले बताए ।

शिविरमा इटहरीको नवदृष्टिबाट १३ जना नेत्र विशेषज्ञ सहितको टोली र फेमिली केयर अस्पताल खोटाङका डा. केके राई सहितको टोली संलग्न थिए ।

समापनको अवसरमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राईले ग्रामीण क्षेत्रमा आएर सर्वसाधारणलाई सेवा प्रदान गरेको भन्दै आभार प्रकट गरेका थिए ।

खोटाङ आँखा परीक्षणका लागि शिविर पहिलो पटक आयोजना भएको हो । शिविरमा जिल्लाका गाउँपालिकाहरू, दुर्गम गाउँहरूबाट सर्वसाधारण आँखा परीक्षण गराउन आएको थिए । उनीहरूलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।

khotang aakha sibir 2