विराटनगर : भारतीय राजदूतावास सम्बद्ध स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा भारतीय स्वतन्त्रता दिवसको अवसरमा शनिवार भारतीय शास्त्रीय नृत्य 'नृत्याञ्जली' प्रदर्शन गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिटी प्यालेसमा आयोजित समारोहका बिच कार्यक्रमको शुभारम्भ गर्दै सांस्कृतिक आदान प्रदानले दुई देशको भाइचारा, सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले कोशी प्रदेशले भ्रमण वर्षको रूपमा भारत भ्रमण गर्ने तयारी गरेको बताए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नेपाल-भारत सम्बन्धलाई बलियो बनाउन संस्कृति पक्षले ठुलो भूमिका निर्वाह गर्दै आएको बताए ।

सांस्कृतिक प्रस्तुति धरान स्थित भारतीय राजदूतावास पेन्सन वितरण कार्यालयको सहरीकरणमा भएको हो । कार्यक्रम समापनमा पेन्सन कार्यालयका प्रभारी अधिकारी मेजर भरत कनोजियाले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका सहभागी टोलीलाई धन्यवाद ज्ञापन गरे ।

उनले देशलाई चिनाउन त्यस देशको कला र संस्कृतिले महत्त्वपूर्ण भूमिका रहेकाले बताउँदै कथक नृत्य भारतीय सांस्कृतिक पहिचान भएको बताए । उनले भने ‘ कथक भारतको पौराणिक नृत्य हो ।’ हिन्दु ग्रन्थहरूमा वर्णित कथक नृत्य भारतको राजस्थान र उत्तर भारतबाट सुरुवात भएको भएको उनको भनाई थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, कोशी प्रदेशका सभासद् यशोदा कायस्थ लगायत सुरक्षा निकायका उच्च अधिकारी, विशिष्ट श्रेणीका सरकारी व्यक्तिहरू, नेपाल भारत मैत्रीसंघका पदाधिकारीहरूको कार्यक्रममा उपस्थिति थियो ।

kathak-dance-2