इटहरी : नेकपा एमाले कोशी प्रदेश कमिटीको सदस्य मनोनीत भएपछि द्वारिकलाल चौधरीले असन्तुष्टि व्यक्त गरेका छन् । भाद्र १० गते को बैठकले चौधरीलाई प्रदेश सदस्य सहित भोक्राह नरसिंह गाउँपालिकाको इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो ।

जुनियर कार्यकर्ताले माथिल्लो कमिटीमा जिम्मेवारी पाउने र ठुलो पालिकाको इन्चार्ज पाउँदै गर्दा आफूलाई अन्याय भएको उनले प्रतिक्रिया दिएका छन् ।

'म उनीहरूको निगाहमा मनोनीत हुनुपर्ने हो र ? यो मेरो हुर्मत लिने काम हो । मैले भोक्राह नरसिंहमा काम गर्दा बढी प्रभावकारी होला कि इटहरीमा काम गर्दा हुन्छ, बुझ्नुपर्ने हैन ?, उनले प्रश्न गरे, 'केन्द्रीय कमिटीका सदस्यहरूको प्रोफाइल र मेरो इतिहास हेर्नु नि कसको बढी छ ? म सन्तुष्ट छैन ।'

यसअघि २०७९ को निर्वाचनमा माओवादी केन्द्र प्रवेश गरेका उनी सुनसरी क्षेत्र नम्बर २ (ख) प्रदेश सभा निर्वाचनमा पराजित भएका थिए । त्यसयता राजनीतिमा निष्क्रिय रहदै आएका चौधरी पछिल्लो समय एमालेको विभिन्न कार्यक्रममा सहभागी हुने गरेका थिए ।

इटहरी उपमहानगरपालिकाको निवर्तमान मेयर चौधरीले एमाले पार्टीको आन्तरिक कलह पछि माओवादीबाट उम्मेदवार भएका हुन् । चौधरी सहित विभिन्न पार्टीबाट आएका १४ जनालाई प्रदेश सदस्य मनोनीत गरिएको हो । इन्चार्जको जिम्मेवारी पाए पनि उनले आफू भोक्राह नरसिंह गएर काम नगर्ने बताएका छन् ।