इटहरी : इटहरी उपमहानगरपालिकाको बहुचर्चित विद्युतीय बस बुधवारबाट सञ्चालनमा आएको छ ।  गाउँ र बजारलाई जोड्ने उद्देश्य बमोजिम ६ करोड ३६ लाखमा खरिद भएका ४ वटा बस औपचारिक रूपमा गुडाउन थालिएको हो ।

नगर बसको उद्घाटन गर्दै मेयर हेमकर्ण  पौडेलले विभिन्न वडाको भ्रमण गरेका छन् ।  नगर बस वातावरणमैत्री, सुरक्षित, भरपर्दो र उपभोक्तामुखी भएको उनले बताए ।

इटहरीका राजनीतिक दलको तिस वर्ष देखिको योजना र नागरिकको इच्छा आज पुरा गरेको उनको भनाइ छ ।

अपाङ्गमैत्री सेवा उपलब्ध गराइएको बसमा र तत्काललाई २० रुपैयाँ मात्र भाडा दर तोकिएको छ । बस बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुने भएका छन् ।

रुट निर्धारण समितिका संयोजक तथा उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलले धरान-विराटनगर सडकमा तरहरादेखि खनारको अरिहन्त उद्योगसम्म बस सञ्चालन हुने बताएका छन् ।

वडा नम्बर ६ का अध्यक्ष समेत रहेका पोखरेलका अनुसार पूर्व–पश्चिम राजमार्गमा बुढी खोला (मिलन चोक) देखि लगुना चोक (बिजुली अफिस) सम्म र विराटनगर लाइनको साथी पेट्रोल पम्प हुँदै ११ नम्बर वडाको खेटीपुल र नहरको बाटो हुँदै इटहरी चोक आउने अर्को रुट तय भएको छ ।  इटहरी चोकबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै पुनः मुख्य चोकमा बस आउने भएको छ ।

अर्कातर्फ इटहरी चोकबाट तालतलैया हुँदै त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै राजमार्गबाट मुख्य चोक ल्याउने गरी रुट तय भएको हो ।

त्यसैगरि उपमहानगरपालिकाबाट पश्चिम लाइन लबीपुर हुँदै  १५ नम्बर वडाको चाँदवेला सिमानाबाट १७ नम्बरको पार्टी कार्यालय र कान्छी चोक सम्म बस सञ्चालन हुने भएको छ ।