धरान : विमल गुरुङ स्मृति पुस्तकालय धरानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव प्रतियोगितामा नवलपरासीका अन्जान प्रदीप (प्रदीप ढुङ्गाना) प्रथम भएका छन् ।
३३औँ बिमल गुरुङ राष्ट्रिय कविता प्रतियोगितामा शनिवार वाचन गरिएको १० कवितामा ढुङ्गानाको ‘सपना’ शीर्षकको कविता प्रथम भएको हो ।
प्रतियोगितामा हाल बेलायतमा रहेकी शान्ति लिम्बुको ‘थेम्स नदिको किनारै किनार’ दोस्रो र मोरङकी समीक्षा छिलिङ राईको ‘फूल र म’ कविताले तेस्रो स्थान प्राप्त गर्यो ।
पुरस्कृत कविहरूले क्रमशः २१ हजार, १८ हजार र १७ हजार हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. भीम खतिवडा र पुस्तकालय अध्यक्ष पूर्णबहादुर गुरुङले पुरस्कार प्रदान गरे ।
सोही अवसरमा कवि विमल कृति पुरस्कार निबन्ध सङ्ग्रह ‘शब्दथुम’ का स्रष्टा प्रकाश थाम्सुहाङलाई प्रदान गरियो । पुरस्कारको राशि नगद २ लाख, ताम्रपत्र प्रमुख अतिथि प्रा.डा. खतिवडाले प्रदान गरे ।
तरहराका युवा कवि विवेक विवश रेग्मीलाई नगद १० हजार सहित यस वर्षको युवा प्रतिभा पुरस्कार प्रदान गरियो । कार्यक्रममा कवि विमलको कविता सङ्ग्रह ‘एक किलो जङ्गल’ लोकार्पण गरियो ।