इटहरी : १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेड खर्साङ क्लब (यूकेएफसी)दार्जिलिङ विजयी भएको छ ।

आयोजक क्लब राष्ट्रिय जागृति (राजा) क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

दार्जिलिङको सेमिफाइनल यात्रामा सत्यम शर्मा र हेमराज भुजेलले गोल गरेका हुन् । खेलको ११ औँ मिनेटमा राष्ट्रिय जागृति क्लबका उमेश कार्कीले कर्नरमा विदेशी खेलाडी एलेक्सले हेड मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको २१ औँ मिनेटमा दार्जिलिङले फ्री किकलाई सदुपयोग गर्दै गोल गरेपछि खेललाई बराबरी बनायो । खेल बराबरीमा पुगेपछि दुवै टिम आक्रामक भएका थिए ।

खेलको ५५ औँ मिनेटमा यूकेएफसीका हेमराज भुजेलले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

खेलको म्यान अफ द म्याच यूकेएफसीका सत्यम शर्मा घोषित भए । उनले १० हजार पुरस्कार प्राप्त गरे ।

भोली (आइतबार) को दोस्रो क्वाटर फाइनल खेल बुढासुब्बा गोल्डकप च्याम्पियन न्यूरोड टिम (एनआरटी) र दुई पटकको च्याम्पियन सगरमाथा यूथ क्लब मोरङ बिच हुनेछ ।