धरान : कोशी प्रदेश प्रिमियर लिगको उपाधि चुम्दै उदयपुरको गाईघाट फुटबल प्रदेश लिग च्याम्पियन बनेको छ । आज बिहीबार धरान रङ्गशालामा भएको समापन खेलमा पाँचथरलाई ११-० को फराकिलो अन्तरले पराजित गर्दै गाईघाट च्याम्पियन बनेको हो ।

लिग च्याम्पियनको उपाधिसँगै गाईघाट राष्ट्रिय लिगको छनौटको लागि हुने अन्तर प्रदेश लिगमा छनौट भएको छ । प्रदेश लिगमा दोस्रो स्थानमा रहेको धनकुटाको देउराली यूथ क्लब पनि अन्तर प्रदेश लिगमा छनौट भएको छ ।

कोशी प्रदेशका ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरू सम्मिलित कोशी प्रदेश प्रिमियर लिगमा ११ जिल्लालाई ४ समूहमा विभाजित गरी समूह चरण र फाइनल चरण गरी खेलाइएको लिगमा उदयपुरको गाईघाट फुटबल क्लब लिग च्याम्पियन बन्न सफल भएको हो ।

फाइनल चरणमा सात अङ्क प्राप्त गरेको गाईघाट लिग च्याम्पियन हुँदा धनकुटाको देउराली यूथ क्लब ४ अङ्क सहित दोस्रो तथा समान ४ अङ्क भए पनि गोल अन्तरको आधारमा खोटाङको बुइपा–११ तेस्रो स्थानमा रहन बाध्य भयो ।

धनकुटाको गोल अन्तर ५ रहेको छ भने बुइपाको गोल अन्तर शून्य रहेको छ । त्यस्तै पाँचथर युनाइटेड क्लब १ अङ्क सहित चौथो स्थानमा रहन सफल भयो ।

उपाधिसँगै गाईघाटले नगद २ लाख पुरस्कार प्राप्त गरेको छ । दोस्रो भएको देउरालीले १ लाख ५० हजार, तेस्रो भएको बुइपाले १ लाख २५ हजार र चौथो भएको पाँचथरले १ लाख पुरस्कार प्राप्त गरेको छ ।

गाईघाटका क्याप्टेन युवराज उत्कृष्ट खेलाडी 

गाईघाट फुटबल क्लबका क्याप्टेन युवराज थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनलाई नगद ५० हजार पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताको उत्कृष्ट गोल किपर गाईघाटकै निम छिरिङ लामा घोषित भए । उत्कृष्ट स्ट्राइकर गाईघाटकै प्रविन राई, उत्कृष्ट कोच गाईघाटका किरण कुमार कार्की घोषित भए ।

त्यस्तै गरी उत्कृष्ट डिफेन्स बुइपाका रामशुर राई घोषित भए भने बेष्ट मिडफिल्डर देउरालीका विपिन लिम्बू घोषित भए । उनीहरूलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरियो ।