धरान : मुटूरोग विशेषज्ञ डा.प्रशान्त साहको सहकार्यमा परिवर्तनका लागि सामाजिक अभियानद्वारा हिजो आइतबार धार्मिकस्थल पिण्डेश्वर मन्दिरमा आयोजित निःशुल्क स्वास्थ्य क्लिनिकमा ११५ जना साधुसन्त समेत ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।
अभियानको ७६ औँ संस्करणको स्वास्थ्य शिविर पिण्डेश्वर बाबाधाम समितिको सहकार्यमा भएको थियो । शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. प्रशान्त साहले ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जाँच गरेका हुन ।

शिविरमा रक्तचाप र मधुमेह परीक्षण निःशुल्क गरिएको समितिका अध्यक्ष विकास बनेपालीले बताए । वीपी प्रतिष्ठानका स्टाफ नर्स निर्मला बास्तोला, रेनुका खड्काले परीक्षण गरेका थिए । अभियन्ताहरू शुसिर बराल, जेनिस शाक्य, हेम ढकाल, राजु फुयाँल, नितु यादव, सोनी यादव स्वयंसेवीको रूपमा संलग्न थिए ।
समापनमा प्रमुख अतिथि धरान-१४ का वडाध्यक्ष कृष्ण भट्टराईले वडामा निःशुल्क शिविर आयोजना गरिएकोमा आयोजकप्रति आभार प्रकट गरे ।अभियानको निःशुल्क शिविरमा ४ वर्षदेखि सहयोग पुर्याउदै आएको डा. प्रशान्त साहले ज्येष्ठ नागरिकको उपचार गर्न पाउँदा मन आनन्दित हुने गरेको बताए ।
अभियानको शिविरमा अहिले सम्म ६० वर्ष माथिका करिब ७५०० बिरामीहरूले निःशुल्क उपचार पाएको अध्यक्ष विष्णु बरालले बताएका छन् ।
उनका अनुसार धरानका वडाहरू सहित वराहक्षेत्र, झुम्का, इनरुवा, इटहरी र पूर्वको झापाका गाउँहरूमा समेत शिविर सञ्चालन गरिँदै आएको छ ।