धरान : धरानमा बेरोजगारको सङ्ख्या कति छ भन्ने तथ्याङ्क उपमहानगरपालिकासँग नभएको र राख्न समेत नसक्ने कुरा नगर प्रमुख हर्क साम्पाङले बताएका छन् ।

धरानमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आयोजना हुने धरान रोजगार मेलाको बारेमा जानकारी दिन आज आइतबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा उनले उक्त जवाफ दिएका हुन ।

सञ्चारकर्मीले धरानमा बेरोजगारको सङ्ख्या कति छ ? भनी सोधेका थिए । प्रश्नको जवाफमा प्रमुख साम्पाङले बेरोजगारको सङ्ख्या कति छ भनेर तथ्याङ्क विभागमा मात्र थाहा हुने नगरपालिकालाई थाहा नहुने बताए ।

पत्रकार सम्मेलनमा बेरोजगारको अनुमानित तथ्याङ्क र रोजगारदाता एकिन तथ्याङ्क प्रस्तुत गरिएको थिएन । कपुरीले तथ्याङ्क बिना रोजगार मेला कतिको फलदायी हुन्छ भनी प्रश्न गरेको थियो ।

जवाफमा नगर प्रमुख साम्पाङले तथ्याङ्क आवश्यक नपर्ने कहाँ कति मानिस छ भनेर उपमहानगरपालिकाले डाटा राख्न नसक्ने बताए । उनले ‘यस्तो छिपिएको प्रश्न मात्र गर्न आउँछ तपाईँलाई ?’ भन्दै झर्किए ।

रोजगार मेला वैशाख ११ र १२ गते २ दिन पब्लिक हाई स्कुल मैदानमा सञ्चालन हुने बताइएको छ । मेलाले स्थानीय उद्योग, व्यवसाय, पर्यटन, होटेल, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका रोजगारदाता र बेरोजगार युवाहरूलाई एकै ठाउँमा जोड्ने प्रमुख साम्पाङले बताए ।

मेलाबाट ५०० युवाले प्रत्यक्ष रोजगारी पाउने, करिब ५,००० जनाले रोजगारीको अवसर सहित क्यारियर परामर्श, सीपमूलक तालिम पाउने दाबी गरिएको छ । प्रमुख साम्पाङले भने ‘स्थानीय युवाहरूलाई रोजगार बनाउँदै युवाहरूको वैदेशिक माया र विदेश पलायन रोक्न दक्ष जनशक्ति उत्पादन गर्न मेला आयोजना गरिएको हो ।’

नेपाल सरकारको ‘५ लाख युवालाई रोजगारी’ कार्यक्रमको लक्ष्यलाई सहयोग पुर्‍याउन उपमहानगरपालिकाले मेला लगाउने बताइएको छ । रोजगार मेलामा प्रवेश र जानकारी लिन निःशुल्क हुनेछ । रोजगार मेलाकी कार्यक्रम संयोजक निर्मला बस्नेतले भनिन ‘युवाले सीप अनुसारको रोजगारी खोज्न, तालिमको अवसर र करियर बनाउने मार्गदर्शन पाउनेछन् ।’

धरानमा ‘रोजगार क्याफे’ सञ्चालन :

धरान उपमहानगरपालिकाले बेरोजगारहरूलाई रोजगार विनिमय सेवा प्रदान गर्न आइतबार देखि 'रोजगार क्याफे' सञ्चालन गरेको छ ।

क्याफेमा नमुना रोजगार सेवा केन्द्रले रोजगारका अवसरको जानकारी दिनेछ । रोजगार क्याफेमा इन्टरनेट भएको १ सेट कम्प्युटर, प्रिन्टर राखिने, सेवाग्राहीहरूलाई निःशुल्क स्थानीय र विदेशी रोजगार खोज्न सुविधा प्रदान गरिने छ । आवश्यक परे पेशेवर सिभि तयार गर्न सहयोग गरिने छ ।

प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले भने ‘यो क्याफे युवाको उद्यमशीलता र क्षमता बढाउने गेटवे हो ।’ रोजगारी खोज्ने प्रक्रिया अब सबैको लागि पारदर्शी र सहज बनाएको उनले दाबी गर्दै सहजरुपमा सेवा लिन आग्रह गरे ।