धरान : धरानमा प्रधान कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैङ्क लिमिटेडलाई नेपाल राष्ट्र बैङ्कद्वारा कोशी प्रदेशको प्रादेशिक बैङ्कको दर्जा प्रदान गरेको छ ।

राष्ट्र बैङ्कले १ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी सहित २०६३ सालमा ३ जिल्ला कार्यक्षेत्र तोकेर इजाजत दिएको मितेरी बैङ्कले १९ वर्षको अवधिमा प्रादेशिक बैङ्कको दर्जा पाएको हो ।

नेपाल राष्ट्र बैङ्कको नियम अनुसार प्रादेशिक विकाश बैङ्कको लागि हकप्रद शेयर, प्राथमिक शेयर निष्कासन तथा बोनस शेयर सहित बैङ्कले कुल १ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याएपछि प्रादेशिक विकाश बैङ्कको दर्जा पाएको छ ।

बैङ्कका अध्यक्ष किसन मास्केले आज सोमवार आयोजित पत्रकार सम्मेलनमा भने ‘प्रादेशिक स्तरको विकास बैङ्कको लागि राष्ट्र बैङ्कले चैत २० गते इजाजत पत्र दिएको छ ।’ उनका अनुसार प्रादेशिक बैङ्कको दर्जा पाएसँगै कोशी प्रदेशका सम्भाव्य जिल्लामा बैङ्कको शाखा विस्तार गर्ने गृहकार्य भइरहेको छ ।

यसअघि ३ जिल्लाबाट २ जिल्ला थप गरी ५ जिल्ला कार्यक्षेत्र रहेको मितेरी बैङ्कले अब कोशी प्रदेशका सबै जिल्लामा बैङ्किङ कारोबार गर्न पाउने भएको हो । बैङ्कको प्रधान कार्यालय १८ शाखाहरू सहित हाल ९० जना कर्मचारी छन् ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापागाईँले राष्ट्र बैङ्कको मूल्याङ्कनमा मितेरी बैङ्क विकाश बैङ्कहरू मध्ये उत्कृष्ट बैङ्क रहेको बताए । मुलुकका बैङ्कहरूमा खराब कर्जाको विन्दु ५ प्रतिशत भन्दा माथि गएको बेला मितेरीले प्रतिशत १ प्रतिशत भन्दा तल राख्न सफल हुँदै आएको उनले बताए । चापागाईँले भने ‘मितेरीले कर्जाको गुणस्तरप्रति ध्यान दिने भएकाले खराब कर्जाको प्रतिशत तल राख्न सफल भएको हो ।’

अध्यक्ष मास्केका अनुसार बैङ्कको प्रधान कार्यालय धरानमा भएकोले मितेरीको ऋण लगानीको निर्णय अन्य बैङ्कहरूको जस्तो ढिलो नहुने ‘आजको भोली नै’ निर्णय हुने भएकाले पनि सहज हुने गरेको छ । उनले ऋण लगानीको उत्पादकत्वको आधारमा लगानी गर्ने या नगर्ने स्पष्ट जवाफ दिने बताउँदै भने ‘धितोको आधारमा मात्र हामी ऋण लगानी गर्दैनौ ।’

पत्रकार सम्मेलनमा जारी विज्ञप्ति अनुसार २०८१ चैत मसान्त सम्म बैङ्कको कुल पुँजी १ अर्ब २१ करोड ७१ लाख रहेको छ । निक्षेप ६ अर्ब, २० करोड, कर्जा ५ अर्ब, १७ करोड, खुद नाफा ९ करोड २४ लाख रहेको छ । प्रति शेयर वार्षिक आम्दानी १० रुपैयाँ  १३ पैसा, प्रति शेयर नेटवर्क १३८ रुपैयाँ  छ । तरलता अनुपात ४२ दशमलव ३६ प्रतिशत, पुंजीकोष अनुपात ३४ दशमलव १९ प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।

miteri1