धरान : धरान उपमहानगरपालिका-१९ मिलनचोकस्थित भित्री सडक खण्डमा विष्णु स्कुलको बसले ट्याम्फुलाई ठक्कर दिँदा ट्याम्फु चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बुधवार बिहान करिब ९ः४० बजे मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु स्कुलको बसले विपरीत दिशाबाट आइरहेको को १ ह ८७७४ नम्बरको अटो ट्याम्फुलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

गम्भीर घाइते भएका ट्याम्फु चालक धरान-१९, एकता मार्गका २४ वर्षीय निमेष भुजेललाई तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। तर उपचारकै क्रममा बिहान करिब ९ः५५ बजे उनको मृत्यु भएको इलाका प्रहरीले जनाएको छ ।

अटोमा सवार धरान-१९का ४८ वर्षीय टिकराम लिम्बु घाइते भएका छन् र उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न स्कुल बस, अटो तथा बस चालक धरान-१४ का २९ वर्षीय अमिर तामाङलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर घटना सम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।