विराटनगर : कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मेडिकलतर्फको विएससी नर्सिङ कार्यक्रम आगामी शैक्षिक सत्रदेखि सञ्चालन गर्ने तयारी गरेको छ।
चिकित्सा शिक्षा आयोगको निर्देशनअनुसार विएससी नर्सिङको नयाँ पाठ्यक्रम निर्माण कार्य सम्पन्न भइसकेको विश्वविद्यालयले जनाएको छ। कोशी सरकारको प्रतिबद्धताअनुसार धनकुटा जिल्ला अस्पताल मनमोहनलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढेसँगै अब कक्षा सञ्चालन मार्ग खुलेको उपकुलपति डा. सुवासश्री पोखरेलले बताए।
उपकुलपति पोखरेलका अनुसार कोशी प्रदेश सरकारले गत जेठमै अस्पताल हस्तान्तरण गर्ने निर्णय गरिसकेको छ। 'सायद माघभित्र अस्पताल प्राप्त हुन्छ, र बैसाखभित्र नर्सिङ कक्षाको व्यवस्था पूरा भइसक्नेछ,' उनले भने।
देशकै पहिलो प्राविधिक विश्वविद्यालयका रूपमा २०७६ मा स्थापना भएको मनमोहनले शिक्षण अस्पताल नपाएकै कारण मेडिकल कार्यक्रमहरू सञ्चालन गर्न नसकेको बताउँदै आएको छ। आवश्यक पाठ्यक्रम निर्माण पूरा भए पनि अस्पताल प्राप्ति प्रक्रिया धेरै ढिलो भएको विश्वविद्यालयको भनाइ छ। मनमोहनले हस्तान्तरणसम्बन्धी सम्झौतापत्रको खाका सरकारलाई बुझाए पनि स्वास्थ्य मन्त्रालयले फाइल अघि नधपाएको विश्वविद्यालय स्रोतको भनाइ छ।
स्कूल अफ मेडिकल एण्ड हेल्थ साइन्सबाट सञ्चालन हुने चार वर्षे विएससी नर्सिङ कार्यक्रम चिकित्सा शिक्षा आयोगको तोकिएको मापदण्डअनुसार तयार पारिएको हो। आयोगका निर्देशक प्रा. डा. सुजबाबु मरहठाले प्रत्यक्ष निरीक्षण गरेर पाठ्यक्रमसमेत अनुमोदन गरिसकेका छन्।
हाल मनमोहन प्राविधिक विश्वविद्यालयले आफ्नै आंगिक क्याम्पसमार्फत इन्जिनियरिङ (सिभिल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स), फार्मेसी, पाँच वर्षेबिए.एलएलबी, स्नातकोत्तर तहमा एलएलएम र हस्पिटल म्यानेजमेन्ट कार्यक्रम सञ्चालन गर्दै आएको छ।

































































