इटहरी : पाका उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको सुनसरी क्षेत्र नम्बर दुईमा नयाँ र युवा उम्मेदवारको लर्को देखिएको छ । नेपाली काँग्रेसले मात्र ६० आसपासका राजीव कोइरालालाई उम्मेदवार बनाएको छ भने बाँकी प्रभावशाली दलमा युवा उम्मेदवार छन् ।
काँग्रेसका कोइराला यसअघि कोसी प्रदेश संसदीय दलका नेता हुन् । २०७९ को प्रदेशसभा निर्वाचनमा थोरै मतान्तरले पराजित उनी पहिलो पटक प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । यसअघि प्रतिनिधिसभा निर्वाचनमा पराजित बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालविक्रम थापा यस पटक पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेकपा (एमाले)ले युवासंघ कोसी प्रदेश संयोजक सुजन लामालाई उम्मेदवार बनाएको छ । ४० हाराहारीका लामा र उनकै उमेर समूहका थापा दुवै इटहरीका हुन् । यसअघि एमालेकै भीम प्रसाद आचार्य विजयी भएको सुनसरी २ मा लामालाई विजयी हुनुपर्ने दबाब छ । जेनजी आन्दोलन पश्चात् दलहरूले युवालाई उम्मेदवार बनाएर राजनीतिक सन्देश प्रवाह गरिरहेका छन् ।
अर्का तर्फ नयाँ पुस्ताका युवा उम्मेदवारले समेत सुनसरी २ मा रौनक बढाएका छन् । घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) बाट ३१ बर्षीया अतीत किरण नेपाल उम्मेदवार भएका छन् । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजनीति सुरु गरेका उनी नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएका थिए । नेकपा (एस) माओवादी केन्द्रसँग एकता हुँदा टुक्रिएर बनेको नेकपा संयुक्तमा समाहित भएका नेपाल इटहरीका चर्चित युवा हुन् । उनी हँसिया चुनाव चिन्ह सहित चुनावी मैदानमा छन् ।
कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबाट सुनसरी २ मा गोपाल तामाङले उम्मेदवारी दिएका छन् । अनुप कुमार उपाध्याय अध्यक्ष रहेको उज्यालो नेपालले देशैभरी उम्मेदवार उठाएको छ । यसअघि रास्वपा सँग एकता गरेको पार्टी पछि अलग भएको थियो । सुनसरी २ मा इटहरीकै २९ बर्षीया तामाङले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय निर्माण दलको तर्फबाट २८ बर्षीया आदित्य आचार्यले उम्मेदवारी दिए । पानीको बोतल चुनाव चिन्ह लिएर उनी चुनावी मैदानमा छन् । नयाँ पुस्ताले मात्र जेनजीको भावना प्रतिनिधित्व गर्न सक्ने र रोजगारी सृजनाको बाटो पहिल्याउने आचार्यको बुझाइ छ । नवीन प्रविधिमा आधारित रोजगारी सृजना अहिलेको आवश्यकता भएको उनको ठम्याइ छ । उनी नेकपा एमालेका नेता तथा इटहरी १७ का वडा अध्यक्ष प्रभात आचार्यका छोरा हुन् ।
त्यस्तै पूर्व राज्यमन्त्री समेत रहेकी रामकुमारी चौधरी समेत चुनावी मैदानमा छिन् । नेकपाबाट उम्मेदवारी दिएकी उनी माओवादी सशस्त्र द्धन्दको समय देखि नै राजनीतिमा सक्रिय छिन् । युवा नेतृ चौधरीले तारा चिन्ह सहित प्रतिस्पर्धा गर्ने भएकी छिन् ।































































