विराटनगर : मनमोहन स्मृति पोलिटेक्निकबाट तीन वर्षे डिप्लोमा इन इन्जिनियरिङ उत्तीर्ण गर्ने विद्यार्थीले अब मनमोहन प्राविधिक विश्वविद्यालयमै बीटेक इन्जिनियरिङ अध्ययन गर्न पाउने भएका छन्।
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा.सुवासश्री पोखरेलले विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन स्मृति पोलिटेक्निकबाट डिप्लोमा तहको अध्ययन पूरा गरेका विद्यार्थीका लागि विश्वविद्यालयमै स्नातक तहको बीटेक (ब्याचलर अफ टेक्नोलोजी इन इन्जिनियरिङ) अध्ययनको व्यवस्था गरिएको जानकारी दिएका हुन्।
मोरङको बुढीगंगा गाउँपालिका-४ हात्तीमुढास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा शुक्रवार आयोजित विद्यार्थी अभिमुखीकरण कार्यक्रममा बोल्दै उपकुलपति पोखरेलले बीटेक इन्जिनियरिङको पाठ्यक्रम तयार भइसकेकाले यसै शैक्षिक सत्रदेखि अध्ययन-अध्यापन सञ्चालन गर्ने तयारी गरिएको बताए।
चालु शैक्षिक सत्रमा विभिन्न विषयमा डिप्लोमा इन इन्जिनियरिङ अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखीकरण गर्दै उपकुलपति पोखरेलले भने, “अब मनमोहन पोलिटेक्निकबाट उत्तीर्ण विद्यार्थीले थप उच्च शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने छैन। हामीले नेपालमै पहिलो पटक बीटेकको पाठ्यक्रम तयार गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्दैछौँ।”
उनका अनुसार मनमोहन प्राविधिक विश्वविद्यालय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीबीईटी) विश्वविद्यालय भएकाले आफ्ना आङ्गिक शिक्षालयमार्फत दक्ष, आत्मनिर्भर र रोजगारमुखी जनशक्ति उत्पादनमा जोड दिँदै आएको छ।
कार्यक्रममा पोलिटेक्निकका प्राचार्य इन्जिनियर सुदीप अधिकारीले डिप्लोमा इन इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको शैक्षिक गुणस्तर कायम गर्न शिक्षालयले निरन्तर काम गरिरहेको बताए। उनले मनमोहन पोलिटेक्निक चार पटक देशकै उत्कृष्ट शिक्षालय बन्न सफल भएको दाबी गर्दै यहाँबाट उत्पादित विद्यार्थी देश तथा विदेशका विभिन्न क्षेत्रमा रोजगारीमा सफल भएको बताए।
“हाम्रा विद्यार्थी निजी तथा सरकारी क्षेत्रमा देशभर सफल भएका छन्। धेरै विद्यार्थी आफैँ आत्मनिर्भर भएर विभिन्न उद्यमसमेत सञ्चालन गरिरहेका छन्। यो हाम्रो गर्वको विषय हो,” प्राचार्य अधिकारीले भने।
पोलिटेक्निक प्रशासन प्रमुख जानकी लेखीले विद्यार्थीलाई केवल जागिर खोज्ने जनशक्तिका रूपमा नभई आफैँ उद्यम गर्न सक्ने आत्मनिर्भर जनशक्तिका रूपमा विकास गर्न शिक्षालयले लगानी गर्दै आएको बताइन्।
विद्यार्थीलाई स्वागत गर्दै विभागीय प्रमुख सन्दीप दाहालले मनमोहनमा अध्ययन गर्ने विद्यार्थीले अनुशासन र अध्ययनको गुणस्तरमा विशेष ध्यान दिने गरेकै कारण व्यवहारिक जीवनमा समेत सफलता हासिल गर्न सकेको बताए।
पोलिटेक्निकमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, आर्किटेक्चर, आईटी र मेकानिकललगायत इन्जिनियरिङ विषय अध्ययनका लागि भर्ना भएका करिब दुई सय जना नयाँ विद्यार्थीलाई विभागीय प्रमुखहरू युवराज चौधरी, रामकुमार यादव, दीपेन्द्र यादवलगायतले स्वागत गरेका थिए।
कार्यक्रममा विश्वविद्यालय संरक्षण समिति सदस्य सत्यनारायण चौधरी, काशीम मियाँ, बलभद्र चौधरी, सेवा आयोगका अध्यक्ष दामोदर थापा, परीक्षा नियन्त्रक डा. भीमप्रसाद काफ्लेलगायत दुहबी, बुढीगंगा र ग्रामथान गाउँपालिकाका शिक्षा अधिकृतहरूको समेत सहभागिता थियो।






































































