इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले व्यक्तिगत स्वतन्त्रतालाई बन्धक बनाएर लिइने शिक्षा प्रभावकारी नहुने बताएका छन् । मानिस व्यक्तिको स्वतन्त्रताको लागि बाचेको बताउँदै उनले कुण्डल लगाएर पनि कलेज जान पाउनुपर्ने बताए ।
राष्ट्रिय आर्म रेस्लिङ प्रतियोगिताको छनौट चरणको खेलमा प्रमुख अतिथि बनेको मेयर पौडेलले युवा पुस्ताले रुचाउने भाषण गरे । जुल्फी पाल्ने, कपालमा कलर लगाउने, कुण्डल लगाउने कुरा व्यक्तिगत स्वतन्त्रतासँग जोडिएको उनले बताएका हुन् । उनले भने, ‘मलाई ट्याटु हानेको पनि मन पर्छ । रातो कपाल पालेको पनि मन पर्छ । मानिस व्यक्तिगत स्वतन्त्रताको लागि बाँचेको छ । मानिस खुसी साथ बाच्न पाउनुपर्छ । कलेजको नियमका बारेमा छलफल गरौँला तर कुण्डल लगाएर कलेज जान पाउनुपर्छ ।’
यसअघि सङ्घीय सरकारको शिक्षा नियमावली सँग बाझिने गरी ऐन संशोधन गरेर सामुदायिक तथा निजी विद्यालयको पोसाक समान बनाउने निर्णय गरेका थिए । पोसाकबारे कार्यपालिकाबाट निर्णय गरे पश्चात् ऐन संशोधन गरेको उपमहानगरपालिकाले अदालतमा मुद्दा जिते पनि कार्यान्वयन गराउन सकेन ।
निजी विद्यालय र अभिभावकहरूको विरोधका बिच अदालती प्रक्रियामा पुगेको सो विषयमा उपमहानगरपालिकाले मुद्दा जितेको थियो । कानुनी लडाइमा विजयी भएको उपमहानगरपालिकाले समान पोसाकको निर्णय कार्यान्वयन गराउन सकेन । यस पटक पुनः मेयर जुल्फी पाल्न र कुण्डल लगाउन पाउनुपर्ने अभिव्यक्ति दिएपछि निजी विद्यालयहरू सशङ्कित भएका छन् ।






































































