धरान : धरानमा भइरहेको हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा दमक लखनपुर भेट्रान र एभरेष्ट भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् । 
आजको खेलसँगै सेमिफाइनल समीकरण पुरा भएको छ । यस अघि नै दुधे भेट्रान र लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। आज भएको पहिलो खेल हाम्रो इटहरी भेट्रानलाई ४-२ गोल अन्तरले पराजित गरेको थियो । दमक लखनपुरकालागी विकास राई र देउमान लिम्बूले २/२ गोल गरेका थिए । इटहरीका निर्मल तामाङले गोल गरे भने अर्को गोल दमकले आत्मघाती गरेको थियो । खेलको म्यान अफ द म्याच दमकका विकास राई घोषित भए । उनलाई नगद १५ सय सहित मेडल प्रदान गरिएको थियो । 
त्यस्तै आज भएको दोस्रो खेलमा आयोजक हाम्रो धरान भेट्रानलाई पराजित गर्दै एभरेष्ट भेट्रान मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ। एभरेष्टले आयोजकलाई टाइब्रेकरमा ४-१ गोल अन्तरले पराजित गरेको हो । निर्धारित खेल गोल रहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा एभरेष्टका नगेन्द्रमणी लिम्बू, सन्तोष बस्नेत, विष्णु सुनार र भेषराज लिम्बूले गोल गरे भने आयोजकका खगेन्द्र खड्काले मात्रै गोल गरे । जनकराज सुनुवार र योगेन राईले गोल गर्न चुक्दा आयोजक पराजित भएको थियो । खेलको म्यान अफ द म्याच एभरेष्टका विष्णु सुनार घोषित भए । उनलाई नगद १५ सय सहित मेडल प्रदान गरिएको थियो । 
भोलि पहिलो सेमिफाइनल खेल दुधे भेट्रान झापा र एभरेष्ट भेट्रान मोरङ बिच ३ः३० बजे धरान रङ्गशालामा हुने भएको छ भने पर्सि बिहीबार दोस्रो सेमिफाइनल दमक लखनपुर भेट्रान र लेटाङ भेट्रान बिच हुने आयोजकले जनाएको छ । हाम्रो धरान भेट्रान फुटबल क्लबका आयोजनामा भइरहेको प्रतियोगितामा ४० वर्ष माथि उमेर समूहका खेलाडी सहभागी छन् भने ३८ वर्षका ३ जनालाई पनि समावेश गराउन पाउने नियम छ । प्रतियोगिताको विजेतालाई नगद ८० हजार र उपविजेतालाई नगद ४० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।