धरान : धरानको विजयपुरमा रहेको आइडल इङ्लिस बोर्डिङ स्कुलले बुधवार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय सेवा दल जुनियर डिभिजन ४८औँ ब्याचको तालिम सम्पन्न गरेका बिद्यार्थीहरु तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ ।
गत पुस ४ गते राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङशिला, मोरङमा सम्पन्न भएको तालिममा सहभागी बिद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरियो। त्यस्तै तालिम अवधिभर विभिन्न विद्यामा उत्कृष्ट भएका छात्र छात्राहरूलाई मेडल र प्रमाण पत्र प्रदान गरियो । 
आइडल बोर्डिङका विद्यार्थीले जुनियर डिभिजन बेष्ट प्लाटुन, कल्चरल शो अन्तर्गत सन्थाल जातिको सतार नृत्यमा प्रथम, छात्र तर्फ फुटबलमा प्रथमको उपाधि जितेका थिए। त्यस्तै तालिममा सहभागी ५ सय ३६ बिद्यार्थीहरु मध्ये आईडियल बोर्डिङका पीयूष राई उत्कृष्ट क्याडेट घोषित भए। 
तालिममा प्रदेश नम्बर १ भरिका सहभागी १५ विद्यालय मध्ये आइडल बोर्डिङ स्कुल उत्कृष्ट घोषित भएको विद्यालयले जानकारी दिएको छ । याङ्सिलामा भएको तालिममा आईडियलका ३६ जना बिद्यार्थीहरु सहभागी भएका थिए । यसैगरी धरान उपमहानगरपालिकाको १ सय २२ औ धरान स्थापना दिवसको अवसरमा आयोजित नगर स्तरीय लोकनृत्य प्रतियोगितामा आइडल स्कुल तेस्रो भएको थियो । त्यस्तै नगर स्तरीय निबन्ध लेखन प्रतियोगितामा पनि तेस्रो भएको थियो।
तालिममा सहभागी र अन्य विभिन्न विद्यामा उत्कृष्ट बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान-१४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, विशेष अतिथि पत्रकार भैरव आङ्ला, अभिभावक डा सागर सुवेदी, स्कुलका निर्देशक सागर खड्का लगायतले पुरस्कार, मेडल र प्रमाणपत्र वितरण  गरे। 
प्रमुख अतिथि भट्टराईले आइडल स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै अतिरिक्त क्रियाकलापका विभिन्न विद्यामा उत्कृष्ट पुरस्कार जितेर धरान १४ नं. वडाको नाम राखेको भन्दै प्रशंसा गरे । वडाको एउटै सिफारिसमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर विद्यालयले सामाजिक दायित्व पूरा गरेको भन्दै वडा अध्यक्ष भट्टराईले स्कुलमा चाडै वडाको तर्फबाट शुद्ध पिउने पानीका लागि फिल्टरको व्यवस्था गरिदिने घोषणा गरे ।
कार्यक्रममा विशेष अतिथि भैरव आङ्ला र अभिभावकका तर्फबाट डा सागर सुबेदीले मन्तव्य राखेका थिए। कार्यक्रम स्कुलका निर्देशक सागर खड्काको अध्यक्षतामा भएको थियो। भाइस प्रिन्सिपल मनोज गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक कमल राना मगरले गरे।
सञ्चारकर्मी आङ्ला र कार्की सम्मानित
idol-samman-patrakarकार्यक्रममा सञ्चार क्षेत्र मार्फत समाजलाई योगदान पुर्‍याएको भन्दै विद्यालयले सञ्चारकर्मी भैरव आङ्ला र तीर्थ कार्कीलाई समेत सम्मान गरेको छ। 
स्कुलका डाइरेक्टर सागर खड्काले सञ्चारकर्मी द्वयलाई अबिर, खादा र सम्मान पत्रले सम्मान गरे। इमान्दारीता र निष्ठापूर्वक लामो समय देखी आफ्नो पेसामा निरन्तर रूपमा लागिरहेका सञ्चारकर्मीलाई सम्मान गर्न पाउँदा खुसी लागेको स्कुलका निर्देशक खड्काले बताए। 
सम्मानित भए पछि मन्तव्य राख्दै पत्रकार आङलाले यो सम्मानले समाज र राष्ट्र प्रति अझ जिम्मेवारीका साथ आफ्नो पेसामा लाग्न उत्प्रेरित गरेको बताए। आङ्ला हाल विजयपुर एफएम एबिसी टेलिभिजन लगायतका सञ्चार माध्यममा आबद्ध रहेका छन्। त्यस्तै कार्की दन्तकाली एफएम, हाम्रोकोशी आवाज, फक्ताङ्लुङ खबर लगायतमा आबद्ध रहेका छन्।