हात्तीपाइले मानिसलाई शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपाङ्गता बनाउने एक प्रकारको नसर्ने रोग हो । यो रोग मसिनो धागो आकारको जुकाजस्तै फाइलेरिया नामक परजीवीको सङ्क्रमणबाट हुने गर्छ । क्युलेक्स वा एनोफिलिस नामक पोथी लामखुट्टेले टोक्दा फाइलेरिया परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ जसबाट हात्तीपाइले रोग लाग्ने गर्छ । सङ्क्रमित भएको केही वर्षपछि मात्र मानिसमा यसका लक्षण देखिन्छन् ।

लक्षण नदेखिने अवस्था  

केही मानिसमा हात्तीपाइलेको सङ्क्रमण भए पनि कुनै पनि किसिमको लक्षण देखिँदैन । 

सङ्क्रमित मानिसको रगत नमुना रातिको समयमा लिएर परीक्षण गर्दा परजीवी देखिन सक्छ । 

सुजन भएको (सुन्निएको) शरीरको अङ्गमा भिडियो एक्स-रे गरेर हेर्दा लिम्फ भेसेल (पत्र वा जालो) फैलिएको तथा वयस्क जुकाका झुप्पा देखिन सक्छन् ।  

लक्षण देखिने अवस्था

शरीरका अङ्गमा सुजन हुनु, सामान्य अवस्थामा सुजन भएको अङ्गमा थिच्दा वा दबाउँदा थिचिने खालको हुन्छ । तर, हात्तीपाइलेको सङ्क्रमण बढ्दै जाँदा छाला बाक्लो हुँदै गएपछि नथिचिने खालको हुँदै जान्छ । 

ठुलो खालको सुजन हुने । 

छालामा पत्र-पत्र हुँदै जान्छ र गाँठागुँठी पलाउँछ ।

सुन्निएको अङ्गमा मुसा पलाउन थाल्छ ।

घाउ आउन थाल्छन् । 

हात्तीपाइले रोगबाट बच्ने तरिका

सरकारले रोग प्रभावित जिल्लामा प्रत्येक वर्ष सञ्चालन गर्ने औषधि अभियानमा सहभागी भई वर्षको एक पटक लगातार ६ वर्षसम्म हात्तीपाइलेको औषधि सेवन गर्नुपर्छ । हात्तीपाइले रोगबाट बच्न दुई किसिमका औषधिको प्रयोग गर्नुपर्छ । डिएन्टाइल कार्बामाजाइन र अल्बेन्डाजोल  औषधिको प्रयोग गर्नुपर्छ । जुन पूर्ण रूपमा सुरक्षित छन् ।  

औषधि कसले नखाने ? 

 दुई वर्ष उमेर नपुगेका बच्चा ।

 गर्भवती तथा सात दिन नपुगेका सुत्केरी । 

 सिकिस्त बिरामी भएका तथा कडा रोग, जस्तो: क्यान्सरपीडित ।

 मुटु रोगी, कलेजो तथा फोक्सोसँग सम्बन्धित रोग लागेका व्यक्ति, छारेरोगी तथा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकाले यो औषधि खानुहुँदैन । 

औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुरा 

खाली पेटमा हात्तीपाइलेको औषधि सेवन गर्नुहुँदैन । शरीरमा हात्तीपाइलेको परजीवी भएका व्यक्तिमा औषधि सेवनपछि पनि सामान्य खालको टाउको दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन्छ । यी लक्षण देखिएमा औषधिले प्रभावकारी काम गरेको बुझ्नुपर्छ ।