वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थापना भएको अवसरमा तिन दिवसीय कार्यक्रम अन्तर्गत वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाले  शिक्षा, युवा तथा खेलकुद विकास शाखासँग समन्वयमा 'लागूपदार्थ दुर्व्यसनी र यसका असर न्यूनीकरणमा विद्यार्थी' भूमिका शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो। वडा नं.५ स्थित जगनाथ डेजराज जनता माध्यमिक विद्यालयमा आयोजना भएको प्रतियोगितामा नगरपालिका भित्रमा सामुदायिक, संस्थागत र धार्मिक माध्यमिक विद्यालयबाट बिद्यार्थीहरुले सहभागी भएका थिए ।
उक्त वक्तृत्वकला प्रतियोगितामा जगनाथ डेजराज जनता माध्यमिक विद्यालय रबी पौडेल प्रथम भएका छन् । त्यस्तै द्वितीय जीवन ज्योति इङ्लिस स्कुलकी सुदिक्षा आचार्य, मुनविन एकेडेमीकी दीक्षा सुबेदी तृतीय र आदर्श माध्यमिक विद्यालयकी श्रद्धा राई सान्त्वना हुन सफल भएका थिए ।
साबिकका ५ वटा गाउँ विकास समितिहरू मिलेर २०७३ साल फाल्गुन २७ गते हालको वराहक्षेत्र तत्कालीन वराह नगरपालिका घोषणा भएको दिनको अवसरमा स्थापना दिवस मनाउने निर्णय अनुसार तिन दिवसीय कार्यक्रम गर्ने योजना बनेको नगर प्रमुख रमेश कार्कीले बताए ।
नगरपालिका घोषणा भएको ७ वर्ष पछि स्थापना दिवस आयोजना गर्न लागिएको हो । स्थापना दिवसको अवसरमा शुक्रवार बेलुका नगरपालिकाको कार्यालय परिसर भित्र दीप प्रज्वलन समेत गरिने छ ।
नगर प्रमुख रमेश कार्कीका अनुसार नगरपालिका स्थापनाको दिन २७ गते प्रत्येक वडामा बृहत् सरसफाइ कार्यक्रम राखिएको छ । त्यस्तै २८ गते वृहत् स्वास्थ्य शिविर र नगर स्तरीय खुल्ला दौड प्रतियोगिता आयोजना हुनेछ ।
२०७३ फाल्गुन २७ गते साबिकका वराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गाउँ विकास समिति मिलेर वराहक्षेत्र नगरपालिका स्थापना भएको थियो । नगरपालिका घोषणा भएको अवसरलाई उत्सवको रूपमा लिएर सातौँ  स्थापना दिवस मनाउने निर्णय गरिएको वराहक्षेत्र नगरपालिका उप-प्रमुख नन्दकुमारी सुनुवारले बताइन् ।