वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत बिहीबार भएको पहिलो खेलमा वडा नं १ र वडा नं ९ ले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
निर्धारित र थप अतिरिक्त समयसम्म दुवै टिमले गोल रहित बराबरी खेले पछि प्रतियोगितामा एक-एक अङ्क बाँडेका हुन् । खेलमा वडा नं १ का अबिशेक श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद दुई हजार एक सय सहित ट्रफि प्राप्त गरेका थिए ।
लिगको अन्तिम खेलमा बराबरी खेल्दै एक अङ्क जोडेको वडा नं १ ले प्रतियोगितामा ८ अङ्क पुर्‍याएको छ । पाँच खेलमा वडा नं १ ले दुई खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा पराजित बनेको थियो ।
वडा नं ९ ले प्रतियोगिताको चार खेलमा एक खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा पराजित हुँदै पाँच अङ्क छ । वडा नं ९ ले लिगमा एउटा खेल खेल्न बाँकी रहेको छ ।
त्यस्तै  बिहीबार भएको दोस्रो खेलमा वडा नं १० विजयी भएको छ। वडा नं.४ लाई एक गोलका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै वडा नं १० ले प्रतियोगितामा तीन अङ्क जोडेको छ । प्रतियोगितामा चार खेल खेलेको वडा नं. १० ले एक खेलमा बराबरी, एक खेलमा पराजित र दुई खेलमा विजयी बनेर प्रतियोगितामा सात अङ्क पुर्‍याएको छ ।
वडा नं १० ले लिगमा अन्तिम खेल खेल्न बाँकी छ । वडा नं ४ लिग चरणका पाँच खेलमा पाँच अङ्क जोड्दै लिग टुङ्गाएको छ । वडा नं ४ ले लिग चरणका खेलमा एक खेलमा जित, दुई खेलमा बराबरी र दुई खेलमा पराजित भएको थियो । खेलमा वडा नं १० का मनिस राई  म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए। 
प्रतियोगितामा शुक्रवार लिग चरणको अन्तिम खेल वडा नं ९ र वडा नं १० का बिच हुनेछ ।