काठमाण्डौं : पछिल्लो समय सहकारी जस्ता वित्तीय संस्थाहरूमा आएको सङ्कटलाई लिएर सामाजिक सञ्जालमा बैङ्कहरू खत्तम हुँदै भनी गरिएका हल्लालाई अर्थमन्त्री डा.प्रकाश शरण महतले वाहियात हल्ला फैलाएर राजनीति गर्ने खोजेको बताएका छन् ।

उनले पछिल्लो समय बैङ्कबाट बचत फिर्ता गर, यो बैङ्क खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी सङ्कट ल्याउने दुष्प्रयास भइरहेको बताउँदै भने ‘म सरकारको तर्फबाट खबरदारी गर्न चाहन्छु, त्यस्तो प्रवृत्तिलाई हामी कुनै पनि हालतमा कारबाही गर्न ढिलो गर्दैनौँ ।’

काठमाण्डौमा भएको चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा अर्थमन्त्रीले उक्त कुरा बताएका हुन् । समाजमा गलत सन्देश दिएर, भ्रम फैलाएर हाहाकारको अवस्था सिर्जना गरेर राजनीतिक उद्देश्य प्राप्ति हुन्छ भन्ने कसैलाई लागेको छ भने त्यो सफल नहुने उनले बताए ।

वाहियात हल्ला गरेर बचतकर्ता, लगानीकर्ता र समग्र अर्थतन्त्रलाई नै विचलनतर्फ लैजाने प्रयासले आर्थिक क्षेत्र प्रभावित नहुने उनले बताए ।

लघु वित्तलाई कसरी स्वस्थ बनाउने भन्ने विषय अहिले सबैको चासोको विषय रहेको भन्दै मन्त्री डा. महतले लघुवित्तमा संलग्न सहभागीहरूको ध्यानाकर्षण गराए ।

पछिल्लो समय लघु वित्तमा देखिएको विचलन र समस्याबाट फाइदा उठाएर राजनीतिक उद्देश्य पूर्ति गर्ने प्रयास भइरहेको उनको भनाई छ । लघुवित्त र सहकारीबाट ऋण लिएकाहरूलाई उपयोग गर्न खोजिएको छ । यो एकदमै खतरनाक प्रवृत्ति रहेको मन्त्रीले बताए ।

उनले भने ‘यो खतरनाक प्रवृत्ति सरकारले हेरेर बस्दैन र लघु वित्तमा जोडिएको सबै बचतकर्ताहरू मिलेर यसको प्रतिवाद गर्नुपर्छ ।’ साथै लघु वित्तलाई स्वस्थ्य, पारदर्शी र गरिब र विपन्नलाई केन्द्रित हुनुपर्छ । लघु वित्तले मूल उद्देश्य छोडेर जान हुने बताए ।

उनले भने ‘ऋण लिएपछि फिर्ता गर्नुपर्ने दायित्व पूरा गर्नुपर्छ ।’ लघु वित्तको सञ्चालक बनेर जसले उद्देश्य विपरीत काम गरेको छ, दुरुपयोग गरेको छ, अपारदर्शी ढङ्गबाट व्यक्तिगत फाइदा उठाउन खोजेका छन् भने त्यसलाई सबै मिलेर निरुत्साहित गर्नुपर्ने मन्त्रीको भनाई छ ।